काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । आज राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।
दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजा अर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो थियो ।