काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
बाल अधिकारका सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न/गराउन, बाल अधिकारको हननमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न, बालबालिकाको आधारभूत अधिकारको सुनिश्चितता गरी बाल अधिकारको रक्षा गर्न र बाल सुधार गृहको व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोगले भनेको छ ।
साथै आयोगले बाल अधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढङ्गले कार्य गर्नसमेत सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।