रौतहटको कटहरियामा भव्य रूपमा मनाइयो ६४८ औं रविदास जन्मजयन्ती

प्रदीप दास, रौतहट ।

फाल्गुन ०१ गते, बिहीबार ।

प्रत्येक वर्ष माघ पूर्णिमाका दिन मनाइने शन्त शिरोमणि गुरु रविदासको जन्मजयन्ती यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ। यसै अवसरमा, रौतहटको कटहरियामा समेत विशेष कार्यक्रमको आयोजना गरी ६४८ औं जन्मजयन्ती उत्सवपूर्वक सम्पन्न भएको छ।

चमार कल्याण समाज नेपाल, जिल्ला कार्यसमिति, रौतहटको आयोजनामा कटहरियास्थित बहादुरपुरको दलित धर्मशालामा कार्यक्रम आयोजना गरिएको थियो। उक्त समारोहमा विशेष समारोहबीच केक काटी गुरु रविदासको योगदानलाई स्मरण गरिएको थियो।

कार्यक्रमकाे औपचारिक सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। प्रमुख अतिथिका रूपमा दिपनारायण साहबको उपस्थिति रहेको सो कार्यक्रममा विशेष अतिथिका रूपमा ओमप्रकाश राम रहेका थिए।

कार्यक्रममा चमार कल्याण समाज नेपाल, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र राम महराको अध्यक्षता रहेको थियो। कार्यक्रमको संचालन रामप्रवेश रामले गरेका थिए भने स्वागत मन्तव्य राम जिवन रामले व्यक्त गरेका थिए।

कार्यक्रममा चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारले गुरु रविदासको आदर्श र शिक्षाको चर्चा गर्दै सामाजिक अन्याय, छुवाछुत, अन्धविश्वास, शोषण र कुरीतिहरूको अन्त्यका लागि उहाँले पुर्‍याएको योगदान अमूल्य रहेको बताए। उनले गुरु रविदासले दिनुभएको मार्गदर्शन आजका पुस्ताले आत्मसात गर्दै समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए।

यस अवसरमा जिल्लाका विभिन्न स्थानबाट आएका चमार समुदायका अगुवा, समाजसेवी, नेताहरू, पत्रकारहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा विभिन्न वक्ताहरूले गुरु रविदासका विचार र दर्शनलाई आत्मसात गर्दै सामाजिक न्याय, समानता र सद्भावको सन्देश फैलाउनु पर्नेमा जोड दिएका थिए।

समाजमा व्याप्त असमानता, विभेद र अन्धविश्वासको अन्त्य गर्दै समानताको पक्षमा उभिन गुरु रविदासको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको वक्ताहरूको भनाइ थियो।

समारोहका अन्त्यमा समुदायका अगुवाहरूले सामूहिक रूपमा गुरु रविदासको शिक्षालाई आत्मसात गर्दै सामाजिक रूपान्तरणका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

ताजा समाचार

Related Articles