प्रदीप दास , रौतहट ।
फाल्गुन ०४ गते, आईतवार ।
रौतहट — स्वास्थ्य सेवामा समर्पित तथा सेवासुविधाबाट बञ्चित गरिएको भन्दै सि.अ.अ.हे.व/सि.अ.नमी स्वास्थ्यकर्मीहरूले रौतहटमा संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरेका छन्।
शनिवार रौतहटको सदरमुकाम गौरस्थित नगरपालिकाको हलमा सम्पन्न भएको जिल्ला स्तरीय संघर्ष भेलाले मधेश प्रदेश सरकारलाई आफ्ना मागप्रति गम्भीर बन्न आग्रह गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। संघर्ष भेलाले काशी साहलाई जिल्ला संयोजक, राजेश यादवलाई सहसंयोजक तथा संजीव कुमार साहलाई कोषाध्यक्ष चयन गर्दै समिति गठन गरेको छ।
संघर्ष समिति रौतहटका संयोजक काशी साहका अनुसार, “२०५३ सालको ऐनअनुसार हामीलाई प्राप्त हुनुपर्ने सेवा–सुविधाबाट वञ्चित गरिएको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले वेवास्ता गरेपछि हामी बाध्य भएर संघर्षको बाटो रोज्नुपरेको हो।”
मधेश प्रदेश समिति सल्लाहकार ललन साहले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। उनले भने, “लोक सेवा तथा स्थानीय निकायमार्फत नियुक्त भएका सि.अ.अ.हे.व/सि.अ.नमी स्वास्थ्यकर्मीहरूलाई स्तरवृद्धि गर्न पटक–पटक माग गरियो। तर, मधेश सरकार कानमा तेल हालेर बसिरहेको छ।”
प्रदेश सरकारका कानुनमन्त्री राजकुमार लेखीले फागुन १५ गतेभित्र हाउसमा प्रस्ताव पेश गर्ने प्रतिबद्धता जनाएका छन्। संघर्ष समितिले मन्त्री लेखीको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको छ तर कार्यान्वयन नभए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।
सल्लाहकार ललन साहले भने, “हाम्रो मागप्रति सरकार सकारात्मक बनेन भने हामी बाध्य भएर आन्दोलनको कठोर बाटो रोज्नुपर्नेछ।”
रौतहट जिल्लाका आधाभन्दा बढी स्थानीय तहमा संघर्ष समिति गठन भइसकेको छ। बाँकी पालिकाहरूमा केही दिनभित्रै संघर्ष समिति गठन गरिने बताइएको छ।
स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीहरूले आफूहरूले सरकारबाट पाउने सेवा सुविधा तथा स्तरवृद्धिको मागलाई सुनिश्चित गर्न संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
रौतहटमा स्वास्थ्यकर्मीहरूले एकताबद्ध भएर आफ्नो हक–अधिकारका लागि सरकारसमक्ष दबाब बढाउने रणनीति बनाएका छन्। अब सरकारले उनीहरूको मागप्रति कस्तो कदम चाल्छ भन्ने हेर्न बाँकी छ।