प्रदीप कुमार दास, रौतहट ।
फाल्गुन १८ गते, आईतवार ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिका–२ धनगढीस्थित धनगढी टोलमा अवस्थित खानेपानी योजना पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबुझाएको कारण फाल्गुन १ गते उक्त योजनाको लाइन काटेपछि स्थानीय बासिन्दा ठूलो समस्यामा परेका थिए। वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीको पहलमा २५ हजार रुपैयाँ तिर्ने निर्णय गरिएपछि प्राधिकरणले लाइन पुनः जडान गरिएको हो ।
धनगढी टोलको खानेपानी सेवा अवरुद्ध भएपछि करिब दुई सय घरधुरी प्रभावित भएका थिए । विशेष गरी महिलाहरू, बालबालिका, वृद्धवृद्धा तथा दैनिक श्रमिकहरूका लागि पानी अभावले ठूलो कठिनाइ सिर्जना भएको थियो । पिउने पानीको अभावका कारण स्थानीय बासिन्दा वैकल्पिक स्रोतको खोजी गर्न बाध्य भएका थिए , जसले गर्दा स्वास्थ्य जोखिम समेत बढ्ने देखिएको थियो।
स्थानीय बासिन्दाले नगरपालिकासँग खानेपानी सेवा पुनः सञ्चालनका लागि बारम्बार माग गर्दै आएका थिए। बिशेष गरी वडा प्रतिनिधि तथा समाजसेवीहरूले पनि समस्या समाधानका लागि चासो व्यक्त गरेपछि नगर प्रमुख विनोद प्रसाद कुर्मिको पहलमा तत्काल २५ हजार रुपैयाँ बुझाएर विद्युत लाइन पुनः जडान गराइएको हो।
बृन्दावन नगरपालिका वडा नं. २ का वडा प्रत्यासी दिपेन्द्र पटेल र समाजसेवी सिकिन्द्र पटेलले नगर प्रमुख कुर्मिलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेका थिए। नगर प्रमुखले स्थानीय बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित हुनु नहुने भन्दै नेपाल विद्युत प्राधिकरणलाई २५ हजार रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेका थिए ।
बृन्दावन नगरपालिकाको सराहनीय कार्यले स्थानीयलाई राहत मिलेको छ। यद्यपि, योजना सञ्चालनमा रहन बाँकी रहेको ८२ हजार १७५ रुपैयाँ ३४ पैसाको महसुल चुक्ता गर्नुपर्ने चुनौती कायमै छ। नगर प्रमुख कुर्मिले बाँकी रकम चाँडै तिर्न पहल गरिने प्रतिबद्धता जनाएका छन्।
खानेपानी सेवा पुनः सञ्चालन भएपछि स्थानीयबासीहरूले नगर प्रमुख विनोद प्रसाद कुर्मीलाई र सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गरेका छन्। स्थानीय भोला पटेल भन्छन्, “खानेपानी बन्द हुँदा निकै सास्ती भोग्नु परेको थियो । अहिले फेरि सेवा सञ्चालन भएकामा खुशी छौं, तर अब स्थायी समाधान खोजिनुपर्छ।”
खानेपानी योजनाहरू दीर्घकालीन रूपमा निरन्तर सञ्चालन हुन सक्ने गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ। खानेपानी उपभोक्ता समितिले महसुल नियमित संकलन गर्ने, नगरपालिकाले अनुगमन गर्ने तथा भविष्यमा यस्ता समस्याहरू पुनः दोहोरिन नदिन योजनाबद्ध कदम चाल्नु आवश्यक रहेको स्थानीयको माग छ।
त्यसैगरी, बृन्दावन नगरपालिका वडा नं. १ स्थित रमौली खानेपानी योजनाको लाइन पनि विद्युत महसुल नबुझाएको कारण काटिएको छ। नगर प्रमुख कुर्मिले रमौली खानेपानी योजनाको विद्युत महसुल चाँडै तिर्न पहल गरिने पनि प्रतिबद्धता जनाएका छन्।