प्रदीप दास, रौतहट ।
फाल्गुन १९ गते , सोमबार ।
रौतहटको गरुडा नगरपालिकाले समाजिक उत्तरदायित्व अन्तर्गत नगरभित्रका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न एक विशेष समारोहबीच विभिन्न सात जना विपन्न नागरिकलाई आर्थिक सहायता हस्तान्तरण गरिएको हो।
नगर प्रमुख जयसवालले गरिबी निवारण, आर्थिक रूपमा कमजोर नागरिकलाई राहत प्रदान गर्ने तथा नगरवासीको जीवनस्तर उकास्ने उद्देश्यले नगरपालिकाले निरन्तर रूपमा सहयोग गर्दै आइरहेको बताउनुभयो। यसै क्रममा गरिब तथा विपन्न परिवारका अमर कुमार सहनी, अम्बिका कुमारी, रामऔतार ठाकुर, सर्वेश्वर नाथ पाण्डे, नथुनी राम, कौशलिया देवी र उनपती देवीलाई आर्थिक सहायता स्वरूप चेक हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जयसवालले गरुडा नगरपालिका केवल भौतिक पूर्वाधार विकासमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहन गर्दै कमजोर तथा पछाडि परेका समुदायको जीवनस्तर सुधार्ने अभियानमा समर्पित रहेको बताउनुभयो। “नगरवासीलाई कुनै पनि समस्या पर्दा नगरपालिका सधैँ सहकार्यका लागि तत्पर छ। गरिबी हटाउने र आर्थिक रूपमा कमजोर नागरिकलाई आत्मनिर्भर बनाउने हाम्रो प्रमुख लक्ष्य हो,” उहाँले भन्नुभयो।
नगरपालिकाले स्वास्थ्य, शिक्षा, आवास र जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रमुख जयसवालले आगामी दिनमा समेत गरिब तथा विपन्न वर्गका नागरिकलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त चेक हस्तान्तरण कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न मिडियाका पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लाभान्वित नागरिकहरूले आर्थिक सहयोग प्रदान गरेकोमा नगरपालिकाप्रति आभार प्रकट गर्दै यस प्रकारको सहयोगले आफूहरूको जीवनयापनमा राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले गरिब तथा विपन्न नागरिकलाई निरन्तर सहयोग गर्ने नगरपालिकाको यो अभियान सराहनीय रहेको बताउँदै नगर प्रमुखसहित सम्पूर्ण नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।
गरुडा नगरपालिकाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीय नागरिकको हितमा विभिन्न जनकल्याणकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।