प्रदीप सम्राट, रौतहट ।
आषाढ ०६ गते, शुक्रबार ।
रौतहट जिल्लाको १८ स्थानीय तहमध्ये एक माधवनारायण नगरपालिकाको १० औं नगरसभा भव्यताका साथ सम्पन्न भएको छ। शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न उक्त सभाको अध्यक्षता नगर प्रमुख बैजनाथ प्रसाद यादवले गर्नुभयो।
सभामा नगर प्रमुख यादवले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको अनुमानित आय–व्यय विवरणसहितको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो। उहाँले बजेट प्रस्तुत गर्दै समग्र नगर विकासलाई दृष्टिगत गर्दै आर्थिक, भौतिक, सामाजिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको समन्वित विकासका लागि बजेट तयार गरिएको जानकारी दिनुभयो।
नगर प्रमुख यादवका अनुसार प्रस्तुत बजेट संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतको संयोजनमा आधारित रहेको छ। राजस्व बाँडफाँड, संघीय समानीकरण अनुदान, सशर्त अनुदान (चालू तथा पुँजीगत), विशेष तथा समपूरक अनुदान लगायतका विभिन्न शिर्षकबाट प्राप्त रकम समेटेर बजेटको खाका तयार पारिएको हो। यस्तै, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानले समेत बजेटलाई सुदृढ बनाएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीतिगत दस्तावेजमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिक प्राथमिकतामा राखिएको छ। नगर प्रमुख यादवले नगरवासीको जीवनस्तर सुधार, आत्मनिर्भर अर्थतन्त्रको निर्माण र सर्वसुलभ सेवाप्रवाह सुनिश्चित गर्न बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले माधवनारायण नगरपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावनाहरूको संरक्षण र प्रवर्द्धनमा समेत बजेटले विशेष ध्यान दिने बताउनुभयो। विशेषतः माधवनारायण मन्दिर परिसर तथा आसपासका क्षेत्रको विकास, पर्यटक आकर्षणका लागि आवश्यक पूर्वाधार निर्माण, सरसफाइ, उज्यालो कार्यक्रम लगायतका योजनाहरू समेटिने जनाइएको छ।
सभामा उपप्रमुख, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिकाका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, शिक्षक, पत्रकार, युवा तथा महिला अगुवा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। नगरसभामा जनप्रतिनिधि तथा सरोकारवालाहरूले आगामी वर्षको बजेटप्रति आफ्नो धारणा प्रस्तुत गर्दै सुधारका सल्लाह सुझावहरू समेत राखेका थिए।

