प्रदीप सम्राट, रौतहट ।
असार ७, शनिबार ।
गढीमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५४ करोड ९१ लाख ७२ हजार एक सय आठ रुपैयाँको बजेट पारित गर्दै आफ्नो १२औं नगरसभा शान्तिपूर्णरूपमा सम्पन्न गरेको छ।
नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथि रहेका थिए। सभामा विकास, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूलाई उच्च प्राथमिकता दिइएको छ।
पारित बजेट अनुसार, पुँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ र चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपैयाँ विनियोजन गरिएको जानकारी नगरपालिकाले दिएको छ।
नगर प्रमुख यादवले सम्बोधन गर्दै नगरवासीको जीवनस्तर उकास्ने, बालबालिका र युवाहरूको क्षमता विकास गर्ने तथा सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यसहित बजेट निर्माण गरिएको उल्लेख गरे। साथै, योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सबै सरोकारवालाबीच समन्वय र सहकार्यको आवश्यकता रहेको उनले जोड दिए।
सभामा उप–नगर प्रमुख, सबै वडाका वडाध्यक्ष र सदस्यहरू, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिहरू, पत्रकार, नागरिक समाजका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

