गौर नगरपालिकाले ६१ करोडको बजेटमार्फत समृद्ध नगर निर्माणको घोषणा

प्रदीप सम्राट,रौतहट ।
असार ९ गते सोमबार ।

गौर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २ सय ६१ रुपैयाँको बजेट प्रस्तुत गर्दै समृद्ध, सुसंस्कृत र पहिचानयुक्त नगर बनाउने संकल्प व्यक्त गरेको छ। नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न १६ औं नगरसभा सोमबार गौर नगरपालिकाको कार्यालय परिसरमा भव्य रूपमा सम्पन्न भयो।

‘हाम्रो अभियान समृद्धि, विकास र गौर नगरपालिका–श्रेष्ठ पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार, महिला तथा बालबालिका उत्थान लगायत बहुआयामिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नगरप्रमुख साहका अनुसार समग्र बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र विविध स्रोतहरूलाई समेटिएको छ।

सभामा नगरपालिकाले आगामी वर्षका लागि १२ नीतिगत क्षेत्र निर्धारण गर्दै लक्ष्यहरू तय गरेको छ। तीमध्ये युवामैत्री शिक्षा र खेलकुद प्रवर्द्धन, आधारभूत स्वास्थ्य सेवा विस्तार, कृषि तथा पशुपालनको व्यावसायिकरण, रोजगारी सृजनासँगै पर्यटन प्रवर्द्धन, शहरी पूर्वाधार निर्माण, सरसफाइ, विपद् व्यवस्थापन र सुशासनलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

नगर उपप्रमुख शैलदेवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको नगरसभामा बजेट सर्वसम्मत पारित गरिएको हो।

नगरसभा मार्फत जनताको आवश्यकता सम्बोधन हुने गरी योजनाको छनोट र कार्यान्वयन प्रक्रिया पारदर्शी बनाइने प्रतिबद्धता जनाइएको छ। प्रमुख साहले नगरवासीसँग सहकार्य गर्दै गौरलाई ‘आधुनिक, समावेशी र नागरिकमैत्री’ नगरपालिका बनाउने सपना साकार पार्ने दृढता व्यक्त गरे।

ताजा समाचार

Related Articles