प्रदीप सम्राट, रौतहट ।
आषाढ १० गते ,मंगलबार ।
रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आज सम्पन्न दशौं नगरसभा तथा नवौं बजेट अधिवेशनमा उपप्रमुख नागेन्द्र यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको प्राथमिकता शिक्षा, सेवा र समानतामूलक विकासमा केन्द्रित रहने स्पष्ट पारे।
शिक्षा क्षेत्रमा अग्रणी रहेको मौलापुरले यो वर्ष पनि कुल बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा शिक्षामै विनियोजन गरेको छ। स्मार्ट कक्षासहितको संरचना विस्तार, प्राविधिक तथा उच्च शिक्षा प्रवर्द्धन, साक्षरता अभियान र विद्यालयस्तरमा गुणस्तरीय शिक्षालाई समावेश गर्दै मौलापुरले देशैभर चर्चा बटुल्दै आएको छ। यसै कार्यदक्षताको सम्मान स्वरूप केही महिनाअघि पोखरामा आयोजित एक कार्यक्रममा मौलापुरलाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै विशेष सम्मान गरिएको थियो।
शिक्षा र स्वास्थ्य सेवा सुदृढीकरणको नाममा मौलापुरले ‘नगर प्रहरी’को अवधारणा हटाउँदै ‘नगर शिक्षक’ र ‘नगर चिकित्सक’ प्रणालीलाई व्यवहारमा ल्याएको छ। मेयर रिना कुमारी साहको नेतृत्वमा स्थानीय शासन सेवा-केन्द्रित, नागरिकमैत्री र सहजीकरणमुखी बन्दै गएको छ।
नगर प्रमुख रिना साहको नेतृत्वमा मौलापुरले अघिल्ला वर्षहरूमा लागू गरेको शून्य कर नीतिलाई निरन्तरता दिँदै, ‘फ्रि बिजुली–फ्रि पानी’ कार्यक्रम यस वर्ष पनि यथावत् रहने बताइएको छ। साथै, यस वर्ष नगरपालिकालाई “कच्ची सडक मुक्त” नगरको रूपमा घोषणा गर्ने तयारी रहेको छ।
“हामी शासक होइनौं, जनताको सेवक हौं। करको बोझ थोपर्ने होइन, जनतालाई सुविधामूलक सेवा उपलब्ध गराउने हाम्रो ध्येय हो,” मेयर साहले नगरसभामा सम्बोधन गर्दै भनिन्।
महिलामैत्री नीतिको रुपमा सञ्चालित ‘छोरीसँग मेयर’ कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिइनेछ। विवाह योग्य छोरीहरुलाई नगद ३० हजार रुपैयाँको अनुदान उपलब्ध गराउने यो कार्यक्रम मौलापुरमै पहिलोपटक सुरु गरिएको हो। साथै, नमुना एकीकृत दलित बस्ती निर्माण तथा धुवा चुलो मुक्त अभियानलाई समेत निरन्तरता दिइनेछ।
आर्थिक वर्ष २०८२/०८३ मा मौलापुर नगरपालिका पुरातात्त्विक महादेव मन्दिरको संरक्षण, शहरी विकास परियोजना, एकीकृत नमुना बस्ती निर्माण, प्राविधिक शिक्षालय सुदृढीकरण, र ‘हर हातमा सीप’ जस्ता लोकप्रिय योजनालाई निरन्तरता दिनेछ। नगर कार्यपालिकाको सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै, वडा र शाखा कार्यालयहरुमार्फत सेवा प्रवाहमा सुधार ल्याइनेछ।
“बेरोजगारी अन्त्य, कृषि व्यवसायमा प्रतिस्पर्धात्मकता, स्वास्थ्य संस्थाको सुदृढीकरण, दलित समुदायका लागि नयाँ बस्ती निर्माण र समावेशी विकास नै हाम्रो आगामी वर्षको प्रमुख एजेन्डा हो,” मेयर साहले स्पष्ट पारिन्।

