प्रदीप सम्राट, रौतहट ।
आषाढ १० गते, मंगलबार ।
रौतहट जिल्लाको परोहा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आफ्नो नवौं नगरसभा मंगलबार भव्यरूपमा सम्पन्न गरेको छ।
नगरपालिकाको प्रशासकीय भवनमा आयोजित नगरसभामा नगरप्रमुख शेख वकिलले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुहुँदै नगरलाई ‘राज्यमै उदाहरणीय नगरपालिका’ बनाउने संकल्पसहित योजनाहरू अघि सारेका हुन्।
नगरप्रमुख वकिलले सम्बोधनमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, महिला तथा बालबालिका, जेष्ठ नागरिक र सामाजिक विकास जस्ता आधारभूत र मानवकेन्द्रित सेवाहरूलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। “नगरवासीको साथ, विश्वास र सक्रिय सहभागिताको कारणले नै परोहा आजको चरणसम्म आइपुगेको हो,” उहाँले भन्नुभयो, “अब हामी समावेशी, उत्तरदायी र दिगो विकासका आधारमा नगरलाई अझै उचाइमा पुर्याउने छौं।”
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आम्दानी स्रोतहरूबाट प्राप्त रकमको समावेश गरिएको छ। प्रस्तुत बजेटको ठूलो हिस्सा पूर्वाधार सुधार, सामाजिक सेवा प्रवाह तथा समावेशी विकासका कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ।
उक्त नगरसभामा नेपाली कांग्रेस रौतहटका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र गिरिले परोहा नगरपालिकाले विगत केही वर्षयता शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउँदै नगरपालिकाको योजना कार्यान्वयन क्षमताको प्रशंसा गर्नुभयो। “स्थानीय सरकारको सेवा प्रभावकारी बन्दै गएकाले जनतामा सन्तुष्टि देखिएको छ,” गिरिले उल्लेख गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, नगर इन्जिनियर दिपेन्द्र यादव, सम्पूर्ण वडाका अध्यक्षहरू, वडा सचिवहरू, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर उपप्रमुख गिरीले सभामा बोल्दै विकासका हरेक पाटोमा महिलाको सहभागिता सुनिश्चित गर्दै लैजाने प्रतिबद्धता जनाउनु भयो भने प्रमुख प्रशासकीय अधिकृत महफुजले बजेट कार्यान्वयनमा दक्ष प्रशासनिक संयन्त्रको भूमिकालाई मजबुत बनाइने बताउनुभयो।
सभामा सहभागी जनप्रतिनिधिहरूले परोहा नगरपालिकाले स्थापना कालदेखि देखाउँदै आएको प्रतिबद्धता, उत्तरदायित्व र योजनाबद्ध विकास प्रक्रियाको उच्च मूल्यांकन गरेका थिए। उनीहरूले आगामी वर्षका कार्यक्रमहरू यथार्थपरक र जनमुखी रहेको उल्लेख गर्दै बजेट कार्यान्वयनमा समुदायको भूमिका झनै महत्वपूर्ण हुने बताए।
नगरसभाबाट पारित नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रणालीको डिजिटलीकरण, कृषि यान्त्रीकरण, वातावरण संरक्षण, युवा सशक्तिकरण, सीपमूलक तालिम, पर्यटन प्रवर्द्धन तथा आपतकालीन व्यवस्थापन जस्ता बहुआयामिक विषयलाई समेत समेटिएको छ।
नगरप्रमुख वकिलले समापन मन्तव्यमा परोहा नगरपालिकालाई पारदर्शी, उत्तरदायी र जनमैत्री शासन प्रणालीद्वारा सञ्चालन गर्ने दृढता व्यक्त गर्दै आगामी योजनाहरूमा नागरिक सरोकार र सुझावलाई समावेश गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

