संघीय गणतान्त्रिक गठबन्धनको विशेष बैठक सम्पन्न, तेस्रो जनआन्दोलनको तयारी र ‘संयुक्त जनजागरण अभियान’ घोषणा

जनकपुरधाम, असार १२ –

देशको बदलिँदो राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै संघीय गणतान्त्रिक गठबन्धनले एक विशेष बैठक सम्पन्न गर्दै तेस्रो जनआन्दोलनको तयारी आरम्भ गरेको छ। जनकपुरधाममा सम्पन्न उक्त बैठक गठबन्धनका संयोजक तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा बसेको हो।

बैठकमा बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निशाद, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुर, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विमला अन्सारीलगायत गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले वर्तमान संविधान कार्यान्वयनप्रति असन्तुष्टि व्यक्त गर्दै न्याय, सुशासन र सामाजिक समानताप्रतिको अभावमाथि गहिरो चिन्ता जाहेर गरे। उनीहरूले स्पष्ट शब्दमा भने – “जनताले अपेक्षा गरेको संविधान आज पनि कागजमै सीमित छ। सुशासन छैन, न्याय छैन, र नागरिकले अधिकारको अनुभूति गर्न पाएका छैनन्।”

गठबन्धनले देशमा व्याप्त भ्रष्टाचार, वर्गीय विभेद, सामाजिक अन्याय र पहिचानको अपमानलाई उठान गर्दै तेस्रो जनआन्दोलन अपरिहार्य भएको ठहर गरेको छ।

बैठकले जनसंवाद र संगठन विस्तारलाई तीव्र बनाउन ‘संयुक्त जनजागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। अभियान अन्तर्गत सातै प्रदेशमा व्यापक जनसम्पर्क, अन्तरक्रिया तथा संगठन विस्तारका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

त्यस्तै, गठबन्धनले सम्पूर्ण प्रगतिशील, पहिचानवादी, सामाजिक न्यायप्रेमी तथा वर्गीय उत्पीडनविरुद्ध लड्ने राजनीतिक दल, संगठन र स्वतन्त्र समूहहरूलाई खुलेर आवद्ध हुन आह्वान समेत गरेको छ।

गठबन्धनलाई थप विस्तार गर्न र नयाँ शक्तिहरूलाई समावेश गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। समितिले विभिन्न दल र समूहहरूसँग संवाद गरी गठबन्धनलाई बलियो र समावेशी बनाउने कार्य गर्नेछ।

बैठकले आगामी छ महिनाभित्र सातै प्रदेश र ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि संयोजन समितिको गठनसहित जिल्ला तथा प्रदेशस्तरीय कमिटीहरू निर्माण गरिनेछन्।

आगामी कार्यक्रम तालिका यसप्रकार छ:

असार २१ सर्लाही जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

असार २५ महोत्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

असार २९ रौतहट जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण ०१ बारा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण ०३ वीरगंज जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण १० सिरहा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण १२ सप्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण १३ सुनसरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण १५ मोरंग जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण १७ झापा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण १९ विराटनगर कोसी प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन

श्रावण २६ धनुषा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन

श्रावण २९ जनकपुर मधेस प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन

संघीय गणतान्त्रिक गठबन्धनले देशमा जारी असमानता, उत्पीडन र पहिचानविहीन राजनीतिक संरचनालाई अन्त्य गर्न निर्णायक आन्दोलन आवश्यक भएको औँल्याएको छ।

बैठकमा नेताहरूले एक स्वरमा भने –

“संविधान संशोधन, सामाजिक न्याय, सुशासन, स्थायी शान्ति र समृद्ध नेपालको निर्माण हाम्रो प्रमुख एजेन्डा हो। शोषित र उत्पीडित जनताको राज्यसत्तामा पहुँच सुनिश्चित गर्न हामी दृढप्रतिज्ञ छौं।”

ताजा समाचार

Related Articles