घनश्याम सिंह,सर्लाही ।
पुस २० गते, आइतबार ।
सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ०५ मा अवस्थित कलवार व्याहुत धर्मशालामा आकाशगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सुरेन्द्र महतोको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। त्यसैगरी, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीकी अध्यक्ष मन्दिरा आचार्य विशिष्ट अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, सहकारीका शेयर सदस्यहरू, सेवाग्राही, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको खुला सत्रको औपचारिक उद्घाटन प्रमुख अतिथि नगर प्रमुख कल्पना कुमारी कटुवालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कटुवालले सहकारी क्षेत्र आर्थिक समावेशीकरण, स्थानीय उद्यमशीलता विकास तथा समुदायको आर्थिक सशक्तीकरणका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले आकाशगंगा सहकारीले पारदर्शिता, उत्तरदायित्व र सदस्य–केन्द्रित सेवामार्फत स्थानीयस्तरमा विश्वास जित्न सफल भएको भन्दै आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र महतोले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षको प्रगति, वित्तीय अवस्था, उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले सहकारीलाई अझ सुदृढ, अनुशासित र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभाको अवसरमा बरहथवा नगरपालिका मात्र नभई राष्ट्रियस्तरमा सर्लाही जिल्लाको नाम चिनाउन योगदान पुर्याएका खेलकुद तथा सांगीतिक क्षेत्रका प्रशिक्षकहरू र कलाकारहरूलाई विशेष सम्मान गरिएको थियो। साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
बरहथवा शाखाका प्रबन्धक सन्तोष साहका अनुसार, यस प्रकारका सम्मान कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ। उहाँले सहकारी संस्थाले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउनुभयो।

