काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै एक जना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्याङ्जाको चापाकोट नगर कार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
०५४ साल कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले ०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये ९० लाख ३९ हजार ६ सय २० रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
कोइरालाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा कमाएको सम्पत्ति श्रीमती गीता कोइरालाको बैंक खातामा समेत राखेकाले गीतालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको अख्तियारले बताएको छ ।