काठमाडौं । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् । मुख्यमन्त्री कार्कीले गठबन्धनमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक–एक जनालाई मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्री कार्यालयबाट शपथग्रहणको तयारीका लागि खबर गइसकेको बताइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङको सचिवालयका अनुसार आजै साँझ साढे ६ बजे शपथग्रहणको तयारी गर्न मुख्यमन्त्री कार्यालयले भनेको हो ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा यसअघि एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राई मन्त्री नियुक्त गरेको थिए ।