काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् ।
शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन् ।
महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए ।
विप्लवले भने ‘चुनबाङ बैठकपछि काठमाडौ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो ।’ विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।
जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको विप्लवको तर्क थियोे ।