रौतहटको मौलापुर नगरपालिका वडा नं ४ मा दुई तले भवन निर्माण सुरु

रानी साह , रौतहट ।
भदौँ १५ गते, शनिबार ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ४ मा वडा कार्यालयको लागि दुई तले नयाँ भवन निर्माण कार्य प्रारम्भ भएको छ। मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको विशेष पहलमा यो भवन निर्माण कार्य सुरु गरिएको हो। नगर प्रमुख साहले एक विशेष समारोहका बीच भवनको शिलान्यास गरेकी छन्, जसमा मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह , वडाध्यक्ष, कार्यपालिका सदस्य , कर्मचारी, बुद्धिजीवी, भद्रभलादमी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

नगर प्रमुख रिना कुमारी साहले निर्माण कार्यको उद्घाटन गर्दै स्थानीय विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएकी छिन्। उनले भनिन्, “वडाबासीहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ भवनको निर्माण कार्यलाई प्राथमिकता दिएका हौं। यस भवनले वडाको प्रशासनिक कामकाजलाई थप सहज र प्रभावकारी बनाउनेछ।”

भवनको निर्माण कार्य एन.एम. कन्स्ट्रक्सन सर्लाहीलाई जिम्मा दिइएको छ। झन्डै १ करोड रुपैयाँको लागतमा बन्ने यो भवनको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न गरिने अपेक्षा गरिएको छ। नगर प्रमुख साहले निर्माण व्यवसायीलाई गुणस्तरमा सम्झौता नगरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएकी छिन्।

उनले भनेकी छन्, “यस भवनको निर्माणमा कुनै पनि प्रकारको लापरवाही सह्य हुनेछैन। निर्माण कार्य गुणस्तरीय हुनुका साथै तोकिएको मापदण्ड अनुसार नै सम्पन्न गर्नुपर्नेछ।” यसै क्रममा नगर प्रमुख साहले जनसमुदायलाई पनि अनुगमन कार्यमा सहयोग गर्न आग्रह गरिन्।

शिलान्यास कार्यक्रममा मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले यो भवन निर्माणले स्थानीय प्रशासनलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरे ।

उक्त दुई तले भवनको निर्माणले मौलापुर नगरपालिका वडा नं ४ का नागरिकहरुमा उत्साह र आशा बढाएको छ। नयाँ भवनको निर्माणपछि वडाको प्रशासनिक कार्य सम्पादनमा थप सुगमता आउने विश्वास लिइएको छ।

ताजा समाचार

Related Articles