आम विधार्थी मोर्चाले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको अभाव रहेको भन्दै सडक आन्दोलनमा

प्रदिप कुमार दास, रौतहट ।

असोज ०२ गते , बुधबार ।

आम जनता पार्टी (आजपा) निकट आम विधार्थी मोर्चाले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको अभाव रहेको भन्दै सडक आन्दोलन थालेको छ। राष्ट्रिय शिक्षा दिवसकै दिन, मधेसका विद्यार्थीले शिक्षकको माग गर्दै वीरगंज र गौरमा प्रदर्शन गरे। प्रदर्शनको नेतृत्व वीरगंजमा उमेश कुशवाहा र गौरमा विवेक साहले गरे। प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको व्यापक सहभागिता देखिएको थियो ।

विधार्थी मोर्चाका अध्यक्ष विवेक साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। उनले मधेसको शिक्षालाई योजनाबद्ध तरिकाले कमजोर बनाउन खोजिएको आरोप लगाए। “हामीले सरकारलाई पटक-पटक यसको बारेमा ध्यानाकर्षण गरायौं, तर कुनै सुनुवाई भएन।

मधेसको शिक्षाको विकासका लागि सरकारले केही गर्न चाहेको छैन। शिक्षकको अनुपात निर्धारण गर्दा पनि विभेदकारी नीति अपनाइएको छ,” साहले भने।वर्तमान शिक्षा ऐन अनुसार, मधेसमा ५० विद्यार्थीमा १ शिक्षक, पहाडमा ४० विद्यार्थीमा १ शिक्षक र हिमालमा ३५ विद्यार्थीमा १ शिक्षक हुनुपर्ने व्यवस्था छ। यो मापदण्ड भित्रै विभेद देखिन्छ भन्ने साहले बताए। तर यो मापदण्ड अनुसार पनि मधेसमा शिक्षकको व्यवस्था नगरेकोमा उनको गुनासो छ।प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईमाथि मधेसविरोधी भएको आरोप लगाउँदै, आन्दोलनकारीले प्रधानमन्त्री र शिक्षामन्त्रीको विरोधमा नाराबाजी गरे।

उनीहरूले सरकारलाई पटक-पटक विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको र यसले मधेसका विद्यार्थीको भविष्यमा नकारात्मक असर परेको जनाए।आजपाले यस आन्दोलनलाई थप बल दिन चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। भदौ २५ देखि ३० सम्म प्रत्येक विद्यालयमा संघर्ष समिति गठन गरिसकिएको छ भने असोज २ देखि ४ सम्म मधेसका विभिन्न जिल्लामा विशेष प्रदर्शन गर्ने योजना छ। संविधान दिवसकै दिन असोज ३ मा संविधानको अन्त्यष्टी यात्रा निकाल्ने र वीरगंज , जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। असोज ९ देखि २० सम्म प्रत्येक जिल्लामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। साथै, कार्तिक ५ देखि शैक्षिक आम हडताल घोषणा गरिएको छ।

आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री ओलीले साम्प्रदायिक गतिविधिमा लागेर मधेसविरोधी कदम चालेको गम्भीर आरोप लगाए। उनले सामाजिक सञ्जालमार्फत सरकारको रवैयाको आलोचना गर्दै सरकार आफैले बनाएको विद्यार्थी-शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विद्यार्थीको भविष्य बर्बाद गरिरहेको जनाए। उनले प्रधानमन्त्री ओलीको कदमलाई राणाकालीन शैलीको संज्ञा दिँदै साम्प्रदायिक गतिविधि नसच्याएमा बंगलादेश जस्तै सरकार ढाल्न विद्यार्थीहरु सडकमा आउने चेतावनी समेत दिए।

आन्दोलनको क्रममा प्रधानमन्त्री ओली र शिक्षामन्त्री भट्टराईले राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुभकामना दिए पनि, विधार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाले यसलाई खोक्रो भाषणको रूपमा लिँदै शिक्षकको व्यवस्थामा ध्यान दिन आग्रह गरे। “हामीलाई उहाँहरूको शुभकामना भन्दा पनि शिक्षकको व्यवस्था गरिदिए आभारी हुन्थ्यौं,” उनले भने।

आन्दोलनरत विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको संघर्षलाई धन्यवाद दिंदै, विधार्थी मोर्चाले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यस आन्दोलनले मधेसको शिक्षा क्षेत्रमा विद्यमान असमानता र सरकारको उदासीनतालाई उजागर गरेको छ। मधेसमा शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकको उचित व्यवस्था हुनु अत्यावश्यक रहेकोमा आजपा र आन्दोलनकारी अडिग छन्।

ताजा समाचार

Related Articles