रौतहट जिल्लामा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

प्रदिप कुमार दास, रौतहट ।

असोज ०४ गते , शुक्रबार ।

रौतहट जिल्लामा बिहीबार राति दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। दुबै घटनाले स्थानीय स्तरमा शोकको वातावरण सिर्जना गरेको छ भने सवारी सुरक्षामा पनि गम्भीर प्रश्न उठेको छ।

पहिलो दुर्घटना रौतहटको गरुडा नगरपालिका–४, चन्द्रपुर–गौर सडक खण्डमा भएको हो। पैदल यात्रा गरिरहेका राम साह रौनियारलाई सानो सवारी साधन (मयुरी)ले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका रौनियारलाई तत्कालै नजिकैको स्वास्थ्य संस्थामा प्राथमिक उपचारका लागि लगिएको थियो। अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको थियो। तर, वीरगञ्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। यस घटनापछि ठक्कर दिने सवारी साधन, म.प्र.०३ ००१ ह ३४१४ नम्बरको मयुरी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल यस विषयमा थप अनुसन्धान भईरहेको छ।

दोस्रो दुर्घटना पनि सोही राति रौतहट जिल्लाको कटहरिया बजार नजिकै लालबकैया पुल पारी, कटहरिया–गम्हरिया सडक खण्डमा भएको हो। उक्त दुर्घटनामा कटहरिया नगरपालिका–९, डुमरीयाका रामजनम पासवानको मृत्यु भएको छ। बाराको सिसवा सोनाहा जाँदै गर्दा पासवान सवार मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। अनियन्त्रित मोटरसाइकल पल्टिँदा गम्भीर चोट लागेका पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

घटनाले स्थानीय स्तरमा सवारी साधनको अनियन्त्रित र असुरक्षित प्रयोगका कारण धेरै मानिसहरुको ज्यान जाने जोखिम अझै पनि बढ्दो रहेको देखाएको छ। साथै, सवारी चालक र पैदल यात्रु दुवैले सवारी नियमको पालना गर्नुपर्ने आवश्यकता अझै स्पष्ट पारेको छ। प्रहरी प्रशासनले दुबै घटनाको विषयमा छानबिन गरी थप कानूनी कारबाही अघि बढाउने बताएको छ।

ताजा समाचार

Related Articles