प्रदिप कुमार दास, रौतहट ।
असोज ०४ गते,शुक्रबार ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको बिश्रामपुरमा संविधान दिवसको अवसरमा नेपाली कांग्रेसले भव्य पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्यसमितिद्वारा आयोजना गरिएको थियो, जसको अध्यक्षता नगरपालिकाका पूर्व मेयर राम स्नेही राय यादवले गर्नुभएको थियो। कार्यक्रम प्रमुख अतिथिका रूपमा रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिना रहनुभएको थियो।
सांसद तिमल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसलाई ऐतिहासिक रूपमा नेपालका ठूला परिवर्तनहरूको अगुवाइ गरेको पार्टीका रूपमा चित्रित गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको नेतृत्व बिना देशको भविष्य परिकल्पना गर्न सकिँदैन।” उहाँले थप रूपमा २०६४ सालमा कम्युनिष्टहरूले दुई तिहाई बहुमत ल्याएर पनि संविधान बनाउन असफल भएको तथ्यलाई उजागर गर्नुभयो। “कम्युनिष्टहरूले बहुमत प्राप्त गर्दा पनि संविधान बनाउन नसकेका कारण जनताले २०७० सालमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत दिए र त्यसपछि शुसिल कोइरालाको नेतृत्वमा संविधान जारी भयो,” तिमल्सिनाले भन्नुभयो।
उहाँले मधेशवादी नेताहरूलाई लक्षित गर्दै भने, “उपेन्द्र यादवजस्ता नेताहरूले यही संविधानमा टेकेर पटक–पटक उपप्रधानमन्त्री पद प्राप्त गरे, तर सत्ताबाट च्युत भएपछि संविधानको बिरोध गर्न थाले। यो व्यवहार पूर्णरूपमा अस्वीकार्य छ।” साथै, सांसद तिमल्सिनाले आउँदो २०८४ सालको चुनावमा नेपाली कांग्रेसले वडा स्तरदेखि प्रदेश र केन्द्रसम्मका सबै पदमा जित हासिल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष राम स्नेही राय यादवले पनि वर्तमान नगर प्रमुखको आलोचना गर्दै जनताको हितमा काम नगरेको आरोप लगाउनुभयो। उहाँले भने, “वर्तमान मेयरले आफ्ना कार्यकर्तालाई पाल्न पोस्नमा व्यस्त हुँदा नगरको विकास निर्माणका कामहरू प्रभावित भएका छन्।” यादवले पार्टीभित्रका केही कार्यकर्ताहरूले विवादका कारण अन्य पार्टीहरूसँग साटघाट नगर्न र विवादलाई छलफलका माध्यमबाट समाधान गर्न आग्रह गर्नुभयो।
यस कार्यक्रममा अन्य विभिन्न दल परित्याग गरी सयौंको संख्यामा युवाहरूले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसमा प्रवेश गर्ने नयाँ सदस्यहरूको स्वागत पार्टीका नेता निलहरी कोइरालाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बच्चु साहले गर्नुभएको थियो।
युवा नेता मुकेशरंजन यादवका अनुसार उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख नेताहरू, स्थानीय भद्रभलादमी, प्रहरी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो कार्यक्रम नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन र आगामी चुनावमा पार्टीलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।
संबिधान दिवसको अवसरमा आयोजित यो कार्यक्रमले पार्टीप्रति जनताको विश्वासलाई पुनःस्थापित गर्न सफल भएको देखिन्छ। पार्टीका नवप्रवेशीहरूबाट कांग्रेसको भविष्यमा थप ऊर्जा र गतिशीलता आउने अपेक्षा गरिएको छ।