डायरिया रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसहित राजपुर स्वास्थ्य चौकीमा पुगे प्रादेशिक अस्पताल गौरका स्वास्थ्य टोली 

प्रदिप कुमार दास, रौतहट ।

असोज ०५ गते , शनिबार ।

रौतहट जिल्लाको राजपुर नगरपालिकामा डायरियाका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ, जसले गर्दा स्थानीय स्वास्थ्य संस्थाहरुमा चाप बढेको छ। यस समस्याको गम्भीरतालाई मध्यनजर गर्दै आज प्रादेशिक अस्पताल गौरबाट स्वास्थ्य टोली विशेष रुपमा राजपुर स्वास्थ्य चौकीमा पुगेको छ। यस टोलीको नेतृत्व प्रादेशिक अस्पताल गौरका अध्यक्ष मो. अनवर हाशमीले गरेका थिए भने टोलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, इमर्जेन्सी इन्चार्ज राजेश कुमार सिंह, डा. गोपाल गुप्ता लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरु सामेल थिए।

स्वास्थ्य टोलीले डायरिया रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसहित राजपुर स्वास्थ्य चौकीमा पुगेपछि त्यहाँको अवस्था विश्लेषण गरेको थियो। डा. मुरारी ठाकुरले डायरिया संक्रमित बिरामीहरुको अवस्थाको बारेमा गहिरो छलफल गर्दै बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न डाक्टरहरूसँग सल्लाह गरेका थिए।

डा. ठाकुरले भने, “राजपुरमा डायरियाको समस्या बढ्दै गएको छ। यहाँका स्वास्थ्यकर्मीहरूले दिनरात निरन्तर काम गरिरहनुभएको छ तर बिरामीको संख्यामा कमी आएको छैन। यसले गर्दा हामीले तुरुन्तै आवश्यक औषधि र अन्य सामाग्री लिएर यहाँ आएका छौं। हामीले बिरामीहरूको अवस्था नियालेर थप स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी गरिरहेका छौं।”

डा. ठाकुरले स्वास्थ्य चौकीको व्यवस्थापन, औषधिको उपलब्धता र बिरामीको उपचार प्रक्रियाको बारेमा समेत जानकारी दिएका थिए। उनले संक्रमित बिरामीहरूको तत्काल उपचार र सरसफाइलाई ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार स्थानीयबासीमा डायरियासम्बन्धी जनचेतना अभिवृद्धि गर्न पनि विभिन्न कार्यक्रमको आयोजना गरिने योजना रहेको छ।

इमर्जेन्सी इन्चार्ज राजेश कुमार सिंहले भने, “डायरियाको मुख्य कारण सफा खानेपानीको अभाव र सरसफाइको कमी हो। हामीले स्थानीय समुदायमा जनचेतना अभिवृद्धिका लागि अभियान सुरु गरिसकेका छौं र थप सचेतना कार्यक्रमहरु पनि गर्नुपर्ने देखिएको छ।”

यसैगरी, डा. गोपाल गुप्ताले स्वास्थ्य चौकीमा बिरामीको उपचार प्रक्रियामा खटिएका स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दै थप स्रोतसाधन उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बिरामीहरुको अवस्थालाई ध्यानमा राखेर आवश्यकताअनुसार अस्पतालले थप सहायता उपलब्ध गराउनेछ।

यस स्वास्थ्य टोलीको आगमनसँगै स्थानीय बिरामीहरुमा केही राहतको अनुभूति भएको छ भने स्वास्थ्य चौकीका कर्मचारीहरुले पनि अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री प्राप्त गर्न पाउँदा उत्साहित देखिएका छन्। स्थानीय जनताले यस कदमको स्वागत गर्दै स्वास्थ्य सेवाको सहज उपलब्धता सुनिश्चित गर्न अझै प्रयासहरु गरिनुपर्ने माग राखेका छन्।

राजपुर नगरपालिकामा डायरिया महामारीको रुप लिन नदिन स्वास्थ्यकर्मीहरुले दिनरात खटिएर काम गरिरहेका छन् भने स्थानीय समुदायलाई सफा खानेपानीको महत्व र सरसफाइका उपायहरूबारे सचेत गराउन पहल भइरहेको छ।

ताजा समाचार

Related Articles