प्रदिप कुमार दास, रौतहट ।
असोज ०६ गते,आईतवार ।
रौतहटको चन्द्रपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको २१ सदस्यीय नगर कमिटी गठन गरिएको छ। चपुरको हिमालयन होटलको सभा हलमा एक विशेष कार्यक्रमको आयोजना गरी सर्वसम्मतिले नगर कमिटीको गठन गरिएको हो। “मन-मनमा जसपा, घर-घरमा जसपा” भन्ने आकर्षक नारासहित आयोजना गरिएको यो कार्यक्रम जसपा नेपालको रौतहट जिल्ला कार्य समितिको पहलमा सम्पन्न भएको थियो। जसपाको जनाधारलाई सुदृढ गर्दै संगठनलाई अझै बलियो बनाउने उद्देश्यले आयोजित यो भेला नगरपालिकाको राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण कदमका रुपमा लिइएको छ।
कार्यक्रमको प्रमुख अतिथि जसपा रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी राय यादवले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्य स्पष्ट पार्नुभयो। उहाँले चन्द्रपुर नगरपालिकामा पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि यो कमिटी गठन आवश्यक रहेको र जनताको समस्यालाई सम्बोधन गर्न नगरस्तरमा सक्रिय नेतृत्वको खाँचो रहेको बताउनुभयो। कार्यक्रममा अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो, जसले गर्दा कार्यक्रमको महत्त्व र यसबाट आउने परिणामहरू प्रति सबैको उत्साह झल्किन्थ्यो।
यस कार्यक्रमको क्रममा नवगठित नगर कमिटीमा फुलचन राईलाई अध्यक्षका रुपमा चयन गरिएको छ भने राम एकबाल साह र आशिष कुशुबार उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै, रन्जित राय यादव सचिवको जिम्मेवारीमा चयन भएका छन् भने सह-सचिवमा आशिष लामा र कोषाध्यक्षमा अन्जु चौधरीको नाम अगाडि आएको छ। अन्य सदस्यहरूमा कुमार आचार्य, विष्णु कुमारी माझी, सुकुनी राई, राम कुमार चौधरी, बच्चेलाल माझी, केशव चौधरी, संजय पसवान, बलिराम सहनी, सिता कुस्बार, देवधारी राय, नन्दलाल साह, जंगली राम, बैधनाथ राम, राजेश साह, र देबकाला साबा रहेका छन्।
श्याम बिहारी राय यादवले नवगठित कमिटीका सम्पूर्ण पदाधिकारीहरूलाई हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै उनीहरूलाई पार्टीका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। उहाँले पार्टीलाई जनतासँग नजिक राख्दै सशक्त र सुदृढ बनाउने जिम्मेवारीलाई सबैले पूर्ण आत्मविश्वासका साथ पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, जसपा नेपालको केन्द्रीय सदस्य तथा प्रदेश सरकारका पूर्व राज्यमन्त्री मो. अब्दुल कलाम आजाद (फूलबाबू) ले पनि आफ्नो विचार राख्दै नवगठित कमिटीलाई बधाई दिए। उनले पार्टीको संगठन सुदृढ बनाउन र जनताको आवाजलाई बलियो बनाउँदै राज्यका नीतिनिर्माण प्रक्रियामा सामेल गराउन चन्द्रपुर नगर कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। प्रदेश सभा सदस्य शोभा देवी साहले पनि आफ्नो मन्तव्य राख्दै नवगठित कमिटीलाई सशक्त नेतृत्व प्रदान गर्न शुभकामना व्यक्त गरिन्।
यस अवसरमा प्रदेश कमिटीका सदस्य बिजय चौधरी, पुनीत राम, जिल्ला कार्य समितिका सदस्य प्रवेज आलम, रामजोधी यादव, समाजवादी खेलकुद महासंघका अध्यक्ष आशीष लामा लगायत नगरस्तरका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले पार्टीको संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको सेवा र समस्याहरूको समाधानमा जुट्ने विश्वास दिलाए।