प्रदिप कुमार दास, रौतहट ।
असोज १३ गते , आईतवार।
रौतहट क्षेत्र नं. ४ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख रामस्नेही राय यादव, संघीय सांसद देव प्रसाद तिमल्सिना, तरूण दलका जिल्ला सभापति सोवित सिलवाल, पूर्व वडाध्यक्ष सचिन्द्र यादव लगायतका नेताहरूको सक्रिय पहलमा बृन्दावन नगरपालिका वडा नं. १ स्थित बागमती नदीमा आएको बाढीबाट १५ जना गोठालाहरूलाई सुरक्षित उद्धार गरिएको छ।
यस क्षेत्रमा केही दिनदेखि लगातारको भारी वर्षाका कारण बागमती नदीमा पानीको सतह अत्यधिक बढेको थियो। फलस्वरूप, नदीको किनारमा खेतबारी हेर्न तथा घाँस लिन गएका गोठालाहरू बाढीको बीचमा फसेका थिए। गोठालाहरूको उद्धारका लागि स्थानीय नेताहरूले तत्परता देखाउँदै तत्काल नेपाल आर्मी, सशस्त्र प्रहरी बल, र जनपद प्रहरीलाई घटनास्थलमा परिचालन गरेका थिए। ती निकायहरूको समन्वय र सहयोगमा उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा रहेका १५ जनाको सकुशल उद्धार गर्न सफल भएको हो।
यस उद्धार अभियानमा पूर्व नगर प्रमुख रामस्नेही राय यादव र नेपाली कांग्रेसका संघीय सांसद देव प्रसाद तिमल्सिनाको व्यक्तिगत पहल र सक्रियताले महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ। नेताहरूको तत्परता र सुरक्षाकर्मीहरूको सहयोगको कारण गोठालाहरूको ज्यान जोगाउन सकिएको हो, जसलाई स्थानीय बासिन्दाहरूले उच्च सराहना गरेका छन्।
उद्धारपछि स्थानीय जनताले पूर्व नगर प्रमुख यादव र सांसद तिमल्सिनालाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको नेतृत्वको प्रशंसा गरेका छन्। विशेषगरी, बाढीको समयमा जनताको सुरक्षाका लागि गरेको साहसिक कदमका कारण यी नेताहरूले आफ्नो लोकप्रियता अझै बढाएका छन्।
यस प्रकारको प्राकृतिक विपत्तिमा जनताको जीवन रक्षा गर्नु भनेको नेताहरू र सुरक्षाकर्मीहरूको कर्तव्य मात्रै नभई सामाजिक उत्तरदायित्व पनि भएको स्थानीय जनताले बताएका छन्। बृन्दावन नगरपालिका क्षेत्रमा यस्तो उद्धार कार्यले नेपाल आर्मी, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायतका सुरक्षाकर्मीहरूको भूमिकालाई पनि सम्मान गरिएको छ।
स्थानीय नेताहरूले भने, “जनताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। यस्तो विपत्तिमा सबैको सहयोग आवश्यक पर्छ र हामीले सबै पक्षसँग मिलेर काम गर्नेछौँ।”