एक महिनाको तलब बाढीपहिरो पीडितलाई दिने पूर्वमन्त्री प्रभु साहको घोषणा 

रानी साह, रौतहट ।

असोज १५ गते, मङ्गलबार ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितलाई सहयोग स्वरूप दिने घोषणा गरेका छन्। बाढीपहिरोका कारण देशभरि जनधनको ठूलो क्षति भएको बताउँदै, उनले सरकारले उद्धार र राहतमा देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि जनाए।

आजपाको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साहले बाढीपहिरोबाट पीडित जनताको लागि सरकारी स्तरबाट उचित राहत उपलब्ध गराउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे। उनले आफ्नो एक महिनाको तलब सरकारी कोषमा जम्मा गरी, त्यसलाई पीडितहरुको राहत र पुनर्स्थापनाका लागि खर्च गर्न आग्रह गरे।

साहले भने, “पूर्वसूचना हुँदाहुँदै पनि सरकारले आवश्यक सावधानी अपनाउन सकेन, पीडितहरुको उद्धारमा समेत कुनै चासो देखाएको छैन। पीडितहरुको खान, बस्न र स्वास्थ्य सेवामा समेत बेवास्ता गरिएको छ। यो स्थिति सरकारको असक्षमता र असफलता दर्शाउँछ। अहिलेको अवस्थामा सरकार जनताका बिचमा हुनुपर्ने हो तर सरकार नै खोज्नुपर्ने अवस्था आएको छ, जुन नेपाली जनताका लागि अत्यन्तै दुःखदायी कुरा हो।”

उनले जनताको सेवामा असक्षम नेताहरुले आफ्नो पदमा रहन कुनै नैतिक आधार नरहेको भन्दै, तत्काल राजीनामा दिनुपर्ने सुझाव पनि दिएका छन्। साथै, उनले पहिरोपीडितको स्थितिप्रति उदासीन रहेको सरकारले जनताको सेवामा आफ्नो पूर्ण क्षमता प्रयोग गर्नुपर्ने बताए।

साहले यसअघि दशैं बोनस रोकेर त्यसलाई बाढीपहिरो पीडितको सहायतामा खर्च गर्नुपर्ने सुझाव दिएका थिए। उनले भने, “सरकारी कर्मचारी जनताको करबाट तलब खान्छन्, तर जनताको दुःखमा साथ दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न यहाँ महत्वपूर्ण छ। दशैं बोनस नलिई पीडितलाई दिएर कति फरक पर्दथ्यो?”

उनले भने, सरकारले चाडपर्व वापत कर्मचारीलाई दिने एक महिनाको अतिरिक्त रकमले बाढीपहिरो पीडितको घर निर्माण र खाना व्यवस्थापनमा ठूलो सहयोग गर्न सकिने थियो।

साहले देशमा नेताहरुले १२ महिनाको तलबको अतिरिक्त चाडपर्व वापत १३ महिनाको तलब लिने र काममा उपस्थित हुन पनि पर्याप्त जिम्मेवारी नलिने प्रवृत्तिको आलोचना गरे। उनले भने, “सञ्चालनको क्रममा घुस खाने, काम नगरी तलब खाने, अनि चाडपर्व वापत अतिरिक्त तलब लिने प्रवृत्तिलाई रोक्नुपर्छ। यसपटकको चाडपर्व बोनस रोकेर बाढीपहिरो पीडितलाई दिँदा ठूलो राहत पुग्नेछ।”

ताजा समाचार

Related Articles