मेयर कप सिजन ३ गरुडा प्रिमियर लिगको उद्घाटन विशेष कार्यक्रमका साथ सम्पन्न

प्रदिप कुमार दास, रौतहट ।

असोज २१ गते, सोमबार ।

मधेश प्रदेशको गरुडा नगरपालिकामा हिन्दुहरुको महान् पर्व दशै-तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको मेयर कप सिजन ३, गरुडा प्रिमियर लिगको उद्घाटन आज एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। यो प्रतिष्ठित प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा गरिएको हो। कार्यक्रममा उहाँले मेयर कपलाई अझ बढी व्यवस्थित र भव्य बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले नगरभित्रका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप थप खेलकुद सामग्री प्रदान गरिने र गरुडा नगरपालिकामा अध्ययन गरी खेलमैदान निर्माण गरिने पनि बताउनुभयो।

युथ क्लब अफ रौतहटको आयोजनामा गरुडा नगरपालिकाको सहयोगमा सुरु भएको यो प्रतियोगिता असोज २१ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १० वटा टिम सहभागी हुनेछन्, जसले आपसमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट खेल कौशल प्रदर्शन गर्नेछन्। कार्यक्रममा मन्त्री जयसवालले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई शुभकामना दिँदै भन्नुभयो, “यदि खेलाडीहरूले निरन्तर मेहनत र लगनशीलता देखाइरहे भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो र देशको पहिचान बनाउने अवसर मिल्नेछ। त्यसैले गरुडा नगरपालिकाले खेलकुद विकासमा आवश्यक पर्ने सबै सहयोग गर्न सदैव तत्पर रहनेछ।”

सो कार्यक्रममा युथ क्लबका अध्यक्ष पिन्टु शर्माको सभापतित्व रहेको थियो भने विशिष्ट अतिथिका रूपमा गरुडा नगरपालिकाका मेयर कन्थमनी जैसवाल, जसपाका जिल्ला सह-इन्चार्ज एवम् दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दास, एमाले जिल्ला अध्यक्ष सचितानन्द साह लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। गरुडा नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण वडाध्यक्षहरूको समेत उल्लेखनीय उपस्थिति रहेको यो कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

आजको प्रतियोगिताको पहिलो खेलमा गरुडा नगरपालिका वडा नं. ४ र गरुडा नगरपालिका वडा नं. ९ बीचको प्रतिस्पर्धा भएको थियो, जसमा वडा नं. ९ का खेलाडीहरूले विजयी हुँदै ट्रफी आफ्नो पक्षमा पारेका छन्। विजयी टिमका खेलाडीहरूलाई सम्मानस्वरूप फूलमाला, टीका र गम्छा ओढाएर जसपाका जिल्ला सह-इन्चार्ज एवम् दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दासले सम्मान गर्नुभएको थियो। उहाँले विजेता टिमलाई बधाई दिँदै भविष्यमा अझै उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो।

प्रतियोगिताको उद्देश्य खेलाडीहरूलाई प्रोत्साहन गर्दै स्थानियस्तरमा खेलकुदको विकास गर्नु रहेको आयोजकले जनाएका छन्।

ताजा समाचार

Related Articles