विद्युत् महशुल पालिकाले तिरेर जनताको सेवा गर्दै हामीले हाम्रो कर्तव्य निभाएका छौ – नगर प्रमुख रिना साह

रानी साह, रौतहट ।

असोज २१ गते , सोमबार ।

रौतहटको मौलापुर नगरपालिकाले आफ्नो ऐतिहासिक नि:शुल्क विद्युत् कार्यक्रमलाई थप सुदृढ गर्दै, आज एक महत्वपूर्ण निर्णय गर्दै करिब एक करोड ५० लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रलाई हस्तान्तरण गरेको छ। यो आर्थिक सहयोग मौलापुर नगरपालिकाका नगरप्रमुख रिना कुमारी साहले औपचारिक रूपमा वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई नगरपालिकाको कार्यालयमा चेक हस्तान्तरण गरेकी छिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले यस कार्यले जनताको हितमा रहेको स्थानीय सरकारको जिम्मेवारीलाई सुनिश्चित गरेको बताएका छन्। उनले भने, “जनताले स्थानीय सरकारबाट पाउने हक र अधिकारलाई हामीले पूरा गरिरहेका छौं। विद्युत् महशुल पालिकाले तिरेर जनताको सेवा गर्दै हामीले हाम्रो कर्तव्य निभाएका छौं।”

मौलापुर नगरपालिकाले वि.सं. २०७६ देखि कृषिका लागि प्रयोग हुने मिटरलाई नि:शुल्क गरेको थियो। यस पहललाई थप विस्तारित गर्दै २०७८ साल साउनदेखि जनताले प्रयोग गर्दै आएको सम्पूर्ण विद्युत् महशुल नगरपालिकाले नि:शुल्क गरिदिएको छ। यो निर्णयले स्थानीय जनतालाई ठूलो राहत पुगेको छ।

विद्युत् महशुल मात्र होइन, मौलापुर नगरपालिकाले अन्य सबै प्रकारका करहरू पनि पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। चालू आर्थिक वर्ष २०८१/८२ देखि पालिकाले पूर्ण शून्य कर नीति अपनाएको छ, जसले जनतालाई शतप्रतिशत राहत प्रदान गरेको छ। यो नीति नेपालका ७५३ स्थानीय तहहरूमध्ये अपनाउने एक मात्र पालिका बनेको छ र यसले मौलापुर नगरपालिकालाई एक उदाहरणीय तहको रूपमा स्थापित गरेको छ।

नगरप्रमुख रिना कुमारी साहको नेतृत्वमा स्थानीय सरकारले जनताको हितमा उठाएका यस्ता कदमहरू धेरै प्रशंसनीय छन्। मौलापुर नगरपालिका मधेश प्रदेशको रौतहट जिल्लामा रहेको छ र यसले शून्य कर नीति अपनाउने पहिलो पालिका भएकोमा गर्व गर्न सक्छ।

यस्तो नीति अन्य स्थानीय तहहरूले पनि अपनाएमा जनतालाई सरकारको साथमा रहेको महसुस हुनेछ। यस प्रकारका कदमहरूले स्थानीय विकासलाई अझै सशक्त बनाउन सक्छन् र जनताको विश्वास पनि प्रगाढ बनाउनेछन्। शून्य कर नीति लागू गरेर मौलापुरले जनताका लागि मात्र कर नलिने नभई जनताको तर्फबाट अन्य आवश्यक सेवाहरूको पनि व्यवस्था गरिरहेको छ।

ताजा समाचार

Related Articles