प्रदिप कुमार दास,रौतहट ।
असोज २२ गते , मङ्गलवार ।
रौतहट – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई आर्थिक संकट र दलाल दलीय सिण्डिकेटबाट बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनु भएको छ। उनले सबै वर्ग, समुदायलाई एकजुट भई तेस्रो जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
दशैं, तिहार र छठ पर्वको अवसरमा रौतहटको महमदपुरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले वर्तमान दलतन्त्रले जनताले लडेर ल्याएको लोकतन्त्रलाई ध्वस्त पार्दै मुलुकलाई अस्थिरतामा पुर्याएको आरोप लगाए। उनले भने, “जनताले लडेर ल्याएको लोकतन्त्रलाई दलतन्त्रले समाप्त पार्न खोजेको छ। अहिले दुई ठूला दलले मिलेर मुलुकलाई विनाशतर्फ धकेलिरहेका छन्। यसको विरुद्धमा हामी सबैलाई एकजुट हुन जरुरी छ।”
साहले वर्तमान सरकारले जनताको सेवामा भन्दा पनि गुट र समूहको स्वार्थमा ध्यान केन्द्रित गरेको बताए। “देश आर्थिक संकट र प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ, तर सरकार जनताको पक्षमा काम गर्नुभन्दा कसरी लुट्ने भन्नेमा केन्द्रित छ। यस्तो अवस्थामा आन्दोलनको विकल्प छैन,” उनले भने।
साहले दलाल दलीय व्यवस्थाले मुलुकलाई अस्थिर बनाउँदै जनताको चाहनालाई पुरा गर्न असफल भएको बताउँदै भने, “अहिले दलमा मुख्य नेताहरू र उनीहरूको वरिपरि गुट, समूह, आसेपासे मात्रै समृद्ध भइरहेका छन्, जबकि जनताको चाहना समृद्धि हो। यो लुटकारी व्यवस्थाको अन्त्य हुन आवश्यक छ।”
साहले युवा, विद्यार्थी, मजदुर, किसान लगायत सबै वर्गले अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको बिरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिए। उनले तेस्रो जनआन्दोलनको घोषणा गर्दै देशमा जनताको शासन व्यवस्थाको स्थापनाका लागि संघर्ष गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा आजपाका स्थानीय नेता राजेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। पार्टी उपाध्यक्ष एवं पूर्वसांसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुषवाहा, महिला मोर्चाकी अध्यक्ष बबिता साह र स्थानीय नेताकार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।