रौतहटलाई बाढी संकटग्रस्त घोषणा नगरिए सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिने : नेकपा एस 

प्रदिप कुमार दास, रौतहट ।

असोज २२ गते , मंगलबार ।

नेकपा (एकीकृत समाजवादी) ले रौतहटलाई बाढी संकटग्रस्त जिल्ला घोषणा नगरिए आन्दोलनको चेतावनी दिएको छ। पार्टीका जिल्ला अध्यक्ष कमल राय यादवको नेतृत्वमा मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सो कुरा उल्लेख छ।

ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, असोज १०, ११ र १२ गते भएको अविरल वर्षाको कारण असोज १३ गते रौतहटको धेरैजसो क्षेत्रमा भिषण बाढी आएको थियो। पूर्वमा रहेको वागमती नदीको लक्ष्मीपुर–३ धर्मपुरको ६ र ७ स्थान, माधोपुरको २ स्थान, पिप्रा रजवाडा र राजदेवीको बाँध बाढीले कटान गरेको थियो। यसैगरी, जिल्लाको मध्यभागमा रहेको लाल बकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा, तेजापाकड, बैरियामा पनि बाढीले बाँध कटान गरेको छ। यसले गर्दा जिल्लाका धेरै भाग डुबानमा परेका छन् र किसानहरूको हजारौं बिघा जग्गामा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ।

धन र जन दुवैमा क्षति व्यहोरेको जिल्लाका नागरिकको पीडा अझै पनि कम भएको छैन। दशैं–तिहारको लागि भण्डारण गरिएको व्यापारिक सामग्री नष्ट हुँदा व्यापारीहरूले पनि ठूलो क्षति बेहोरेका छन्। यति मात्र नभई माछा पोखरीहरू, नगदेबालीहरू र अन्य व्यावसायिक प्रतिष्ठानहरू समेत बाढीको चपेटामा परेका छन्। ज्ञापनपत्रमा भनिएको छ कि यसरी ठूलो क्षति भएका रौतहट तथा अन्य क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउनेतर्फ सरकारले कुनै चासो नदेखाउनु अन्यायपूर्ण व्यवहार हो।

देशका विभिन्न भागमा आएको बाढी र पहिरोको अवस्थालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विश्लेषण गर्दै केही स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरेको भए तापनि रौतहट जिल्ला वा मधेश प्रदेशका कुनै पनि स्थानीय तहलाई सो घोषणा नगरिनु सरकारको भेदभावपूर्ण नीति भएको नेकपा (एकीकृत समाजवादी) को आरोप छ।

ज्ञापनपत्रमा रौतहट जिल्लाका गौर नगरपालिका, दुर्गा भगवती, यमुनामाई, राजदेवी, बौधीमाई, ईशनाथ, माधवनारायण, गढीमाई, गरुडा लगायतका नगरपालिकामा डुबानले पारेको असर र किसानहरूको धानबालीमा भएको व्यापक क्षतिलाई राज्यले सम्बोधन गर्न माग गरिएको छ। यथाशीघ्र रौतहटलाई बाढी संकटग्रस्त जिल्ला घोषणा नगरे नेपाल सरकारविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी दिइएको छ।

प्रदेश सांसद कनिस पटेल, गौर नगर प्रमुख शम्भु साह, राजदेवी नगर प्रमुख भिखारी यादव, बौधीमाई नगर प्रमुख प्रदिप कुमार यादव, नेकपा (एकीकृत समाजवादी) का नेता रेवन्त झा, अनिल लाल दास, जयरानी देवी सहनी लगायतका नेताहरूको उपस्थिति रहेको सो कार्यक्रममा बाढी पीडितहरूको मुद्दा उठाइएको हो।

ताजा समाचार

Related Articles