प्रदिप कुमार दास, रौतहट ।
असोज २३ गते, बुधबार ।
रौतहट — आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा भइरहेको प्राकृतिक स्रोतसाधनको अनियन्त्रित दोहनले देशलाई मरुभूमीमा परिणत गर्न सक्ने चेतावनी दिएका छन्। उनले प्राकृतिक सम्पदाको यो अत्यधिक शोषण तुरुन्त रोक्नुपर्ने र यसमा सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन्।
महान चाडपर्वहरु दशैं, तिहार र छठको पावन अवसरमा रौतहटको प्रतापपुर पलटुवा गाउँमा आयोजित एक शुभकामना तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै साहले अहिले नदी, खोला लगायतका प्राकृतिक स्रोतसाधनको अन्धाधुन्द उत्खनन भईरहेको र त्यसले देशको पारिस्थितिक प्रणालीलाई गम्भीर संकटमा पुर्याउने खतरा औंल्याए। उनले भने, “यदि तत्काल नै प्राकृतिक स्रोतसाधनको दुरुपयोग रोकिनन भने, नेपाल मरुभूमी बन्न सक्छ। प्राकृतिक स्रोतहरूको दोहनले वातावरणीय असन्तुलन निम्त्याउँदैछ, तर सरकार यो विषयमा बेखबर देखिन्छ।”
साहले तराई मधेस क्षेत्रमा गर्मीको तीव्रता बढ्दै गएको, चापाकल सुक्न थालेको र तातो हावा चल्न थालेको उल्लेख गरे। पहाडी क्षेत्रमा समेत तापक्रमको वृद्धि भएको भन्दै उनले यसलाई खतराको संकेतको रुपमा चित्रित गरे। साहका अनुसार प्राकृतिक स्रोतसाधनको अतिक्रमणले मात्र नभएर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगर्नुले विपत्तिहरु निम्त्याएको छ।
अध्यक्ष साहले सरकारलाई प्राकृतिक स्रोतसाधनको संरक्षणमा नजिकबाट ध्यान दिन आग्रह गर्दै भने, “सरकारले प्राकृतिक स्रोतहरूको संरक्षण गर्नुको साटो त्यही स्रोतहरूको दोहन गरेर कमाउ धन्दामा लागेको छ।” उनले नागरिकको भविष्यसंग खेलवाड गरेको आरोप लगाउँदै भने कि, सरकारको असक्षमता र उदासीनताले गर्दा जनतालाई वातावरणीय संकटको सामना गर्न बाध्य बनाइएको छ।
तराई मधेसको दीर्घकालीन विकासका लागि साहले नदीमा मजबुत तटबन्ध निर्माणको आवश्यकता रहेको उल्लेख गरे। प्रत्येक वर्ष बाढी, डुबानका कारण सयौं मानिसको मृत्यु हुने, लाखौं घरपरिवार विस्थापित हुने स्थितिलाई सम्बोधन गर्नका लागि उनले नदीमा बलियो तटबन्ध आवश्यक भएको तर्क गरे। तटबन्ध निर्माणका लागि सरकारको तर्फबाट बजेटको उचित व्यवस्था नहुनुले जनताको जिउधन जोखिममा परिरहेको उनको भनाइ थियो। “सरकारले तटबन्ध निर्माणको बजेट नदिँदा, जनताले बाढी र डुबानबाट मर्नुपर्ने स्थिति आउँछ,” साहले भने।
साहले प्राकृतिक स्रोतसाधनको अस्थिर दोहनले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिहरु निम्त्याएको र यस समस्याको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। उनले सरकारले यसबारे तत्काल गम्भीर भएर आवश्यक बजेटको व्यवस्था गर्दै स्रोतसाधनको संरक्षणमा ध्यान दिनुपर्ने बताए।
उक्त कार्यक्रममा आजपा का उपाध्यक्ष तथा पूर्वसांसद समिना हुसेन, महासचिव त्रिभुवन साह, उप-महासचिव सियाराम कुशवाहा, महिला मोर्चा अध्यक्ष बबिता साह, स्थानीय जनताहरू,भद्रभलादमी, बुद्धिजीवी,सञ्चारकर्मीहरु लगायत अन्य नेताहरूको विशेष सहभागिता रहेको थियो ।