रानी कुमारी साह , रौतहट ।
असोज ३० गते,बुधवार ।
रौतहट जिल्लामा ६९औँ प्रहरी स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको यस कार्यक्रममा प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हिरालाल रेग्मीले नेपाल प्रहरीको जिम्मेवारीको महत्त्व र जिम्मेवारीबारे विशेष जोड दिएका छन्।
कार्यक्रममा बोल्दै प्रजिअ रेग्मीले नेपालको ग्रामीण क्षेत्रका नागरिकहरूदेखि लिएर शहरी क्षेत्रमा रहेका विभिन्न समस्याहरू समाधान गर्न नेपाल प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए। उनले नागरिक सुरक्षा मात्र नभई, बाटो घाटो व्यवस्थापन, स्थानीय झगडा–झमेलाको समाधान, चोरी–तस्करी नियन्त्रण, वन–जंगल संरक्षण, खोला नाला व्यवस्थापन तथा बालुवा–गिटी जस्ता प्राकृतिक स्रोतहरूको सुरक्षाका लागि समेत प्रहरीको योगदान आवश्यक रहेको बताए। रेग्मीले भने, “प्रहरी छ भने मात्र राज्यको उपस्थिति महसुस हुन्छ, नत्र राज्यको नाम मात्र रहन्छ।”
प्रजिअ रेग्मीले समयमा प्रहरी नपुगेको खण्डमा साना समस्या पनि चक्का जामजस्ता ठूला समस्यामा परिणत हुन सक्ने बताउँदै, राज्यको उपस्थिति देखाउन प्रहरी अनिवार्य रुपमा आवश्यक हुने बताए। सीमित साधन र स्रोतबीच पनि रौतहटमा नेपाल प्रहरीले उल्लेखनीय काम गरेको भन्दै उनले जिल्ला प्रहरी प्रमुखदेखि चौकीमा खटिएका सबै प्रहरीलाई धन्यवाद ज्ञापन गरे। उनले काम गर्ने क्रममा भएका कमीकमजोरीलाई सुधार्दै आगामी दिनमा जनताले चाहेको सेवा प्रवाहमा सुधार हुने विश्वास व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दीलिप घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक समाजका अध्यक्ष जगरनाथ प्रसाद केसरी र उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले पनि प्रहरीको योगदानको प्रशंसा गरे। विशेषगरी बाढी पीडित, आगलागी तथा अन्य प्राकृतिक प्रकोपका घटनामा नेपाल प्रहरीले जनताको जिउधनको सुरक्षाका लागि गरेको प्रयत्नलाई सराहना गरियो।
कार्यक्रममा प्रमुख अतिथि रेग्मीले ईलाका प्रहरी कार्यालय राजपुर फरहदवाका जग्गादाता परिवारलाई सम्मान गरे। साथै, नेपाली सेना, सशस्त्र प्रहरी, सीमा सुरक्षा बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरूको उपस्थिति पनि रहेको थियो।