गरुडाका नगरप्रमुख कन्थमनी जयसवालले गरे नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन 

प्रदिप कुमार दास, रौतहट ।

असोज ३० गते, बुधबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५, महम्मदपुरमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। बुधबार आयोजित सो कार्यक्रममा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवाल र वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा पुलको उद्घाटन गरेका हुन्। करिब ५० लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुलले गरुडा र वृन्दावन नगरपालिकालाई जोड्ने महत्वपूर्ण कडीको रुपमा भूमिका खेल्नेछ।

नगरप्रमुख जयसवालका अनुसार, पुलको निर्माणपछि विशेषगरी स्थानिय किसानहरूलाई खेतीपातीका लागि आवतजावत गर्न अत्यन्त सहज हुनेछ। पुल नहुँदा वर्षायाममा नदीमा पानीको सतह बढ्दा किसानहरूको आवतजावतमा समस्या हुने गरेको थियो। अब भने यो पुलले उनीहरूको दैनिकीलाई सहज बनाउने र कृषिमा सघाउ पुर्याउने नगरप्रमुखले बताए।

नगरप्रमुख जयसवालले गरुडा नगरपालिकाभित्र विभिन्न निर्माण कार्यहरू अघि बढाउने योजना रहेको उल्लेख गर्दै बजेट अभावका कारण कतिपय महत्वपूर्ण परियोजनाहरू कार्यान्वयनमा कठिनाइ भएको कुरा पनि खुलासा गरे। उनले भने, “नगरपालिकाको सीमित बजेटले धेरै काम गर्न सकिँदैन, तर केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरी नगरको समग्र विकासका लागि हामी दृढ संकल्पित छौं।”

कार्यक्रमका क्रममा नगरप्रमुख जयसवालले नगरको समृद्धि र विकासलाई गति दिन, जनताको पीडा बुझेर, उनीहरूको दुःखमा साथ दिँदै, आवश्यक पूर्वाधार विकास कार्यहरूलाई तीव्र रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामीले विकासलाई जनतासँग जोडेर अघि बढाइरहेका छौं। जनताको आवश्यकतालाई ध्यानमा राख्दै योजनाहरू कार्यान्वयनमा ल्याएका छौं र यो पुल पनि त्यसैको उदाहरण हो।”

उक्त उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम, नगर प्रमुख प्रत्यासी विपिन जयसवाल, योजना प्रमुख रामानन्द सहनी, लेखा प्रमुख कुमार ठाकुर, कार्यपालिका सदस्य ध्रुव गिरि, साथै विभिन्न स्थानिय नेता, बुद्धिजीवी, समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। समारोहले स्थानीय जनतामा उत्साहको माहोल सिर्जना गरेको थियो।

ताजा समाचार

Related Articles