दर्जनौं नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टीहरू परित्याग गर्दै जसपा नेपालमा प्रवेश

प्रदिप कुमार दास, रौतहट ।
कार्तिक ०४ गते,आईतवार ।

रौतहटको गरुडा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको आयोजनामा विशेष शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम नगरपालिकाको वडा नं. ५ स्थित महम्मदपुर झाँझ बैरेजमा अवस्थित गोपाल सेवा समिति भवनको सभा हलमा आयोजना गरिएको थियो। जसपा गरुडा नगर कमिटीको आयोजनामा भएको यस कार्यक्रममा दर्जनौं नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टीहरू परित्याग गर्दै जसपा नेपालमा प्रवेश गरेका छन्।

आइतबार सम्पन्न नगर स्तरीय विस्तारित बैठक र शुभकामना आदान प्रदान कार्यक्रममा गरुडा नपा-५ महम्मदपुरका पूर्व वडा अध्यक्ष जयमंगल राय यादवको अध्यक्षतामा बैठक संचालन भएको थियो। यस अवसरमा प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री गोविन्द चौधरी उपस्थित थिए। प्रमुख अतिथि चौधरीले नव प्रवेशी नेता तथा कार्यकर्ताहरूलाई फूलमाला,टीका र दोसल्ला ओढाई स्वागत गर्दै हिन्दू धर्मावलम्बीहरुको महान पर्व दीपावली र महान आस्थाको पर्व छठको शुभ अवसरमा सम्पूर्ण सहभागीलाई शुभकामना व्यक्त गरे। उनले देशको राजनीतिक स्थिरता, आर्थिक प्रगति र सामाजिक एकताको महत्वलाई जोड दिँदै नेता कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्तप्रति बफादार रहने आग्रह पनि गरे।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय सभा सदस्य माननीय पुजा चौधरीको उपस्थिति रहेको थियो भने अन्य प्रमुख व्यक्तित्वहरूमध्ये मधेश प्रदेश सरकारका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जसपाका केन्द्रीय सदस्य चुल्हाई राय यादव, मधेश प्रदेश कार्यकारिणी समिति सदस्य पुनीत राम, गरुडा नगरपालिकाका मेयर प्रत्याशी अनिल कुमार यादव, माधवनारायण नगरपालिकाका पूर्व मेयर बिरेन्द्र राय यादव र जसपा रौतहटका जिल्ला अध्यक्ष श्यामबिहारी राय यादव उपस्थित थिए। यसका साथै, जिल्ला सह-इन्चार्ज राजकुमार दास तत्मा, महिला नेत्री रन्जु दास तत्मा, जिल्ला उपसचिव दिनेश कुमार यादव र समाजवादी युवा संघ नेपाल मधेश प्रदेशका कार्यबाहक अध्यक्ष कमलेश कुमार यादव लगायत थुप्रै नेता कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

जसपा नेपालमा प्रवेश गर्ने नयाँ सदस्यहरूले आफ्नो अभिव्यक्तिमा पार्टीको सिद्धान्तप्रति आस्था व्यक्त गर्दै देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरे। उनीहरूले जसपा नेपालले ल्याएका नीति र कार्यक्रमहरू मधेशको समृद्धि र समानताको लागि ठोस कदम भएको बताउँदै यसमा आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए। नव प्रवेशी सदस्यहरूलाई स्वागत गर्दै पार्टीका नेताहरूले आगामी दिनमा उनीहरूलाई पार्टीको जिम्मेवारी दिने प्रतिबद्धता जनाए।

ताजा समाचार

Related Articles