प्रदीप कुमार दास, रौतहट ।
कार्तिक ११ गते , आईतवार ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा ‘धुवाँमुक्त अभियान’ अन्तर्गत ग्यास सिलिन्डर सेट तथा राहत सामग्री वितरणको कार्यक्रम सुरु गरिएको छ। यो अभियानको सुरुआत वडा नं. १ गंगापिपराको दलित समुदायबाट गरिएको हो, जहाँ स्थानीय बासिन्दालाई ग्यास सिलिन्डर र चुल्हो सेटसँगै खाद्यान्न राहत सामग्री समेत प्रदान गरिएको छ ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहको नेतृत्वमा आयोजना गरिएको यस कार्यक्रमले गाउँपालिकालाई धुवाँमुक्त बनाउने लक्ष्य राखेको छ। अध्यक्ष सिंहले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धताहरूलाई पूरा गर्दै यो महत्त्वपूर्ण कार्यक्रमको सुरुआत गरेका हुन्। गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस अभियानको पहिलो चरणमा गंगापिपराका दलित परिवारहरूलाई राहतस्वरूप ग्यास सिलिन्डर, चुल्हो सेटसहित चामल, दाल, खाने तेल, नुन र सोयाबिन प्रदान गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले भने, “हामीले जनताको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले धुवाँमुक्त अभियानको थालनी गरेका हौँ। यो योजनाले महिलाहरूलाई खाना पकाउने क्रममा हुने धुवाँबाट जोगाउनुका साथै सरसफाइमा सुधार ल्याउने विश्वास छ।” उनका अनुसार, गाउँपालिकाका वडा नं. १ देखि वडा नं. ५ सम्मका ४५ सय घरधुरीमा यो वितरण कार्यक्रम क्रमशः सम्पन्न गरिनेछ।
धुवाँमुक्त अभियानले न केवल वातावरणीय सुधारको लक्ष्य राखेको छ, तर यसले गाउँपालिकाभित्रको स्वास्थ्य र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। अध्यक्ष सिंहले आगामी दिनहरूमा पनि गाउँपालिकाको विकास र जनताको हितका लागि विभिन्न योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
गंगापिपराका बासिन्दाहरूले यो अभियानको स्वागत गर्दै राहत सामग्री पाउँदा निकै खुशी व्यक्त गरे। उनीहरूले गाउँपालिकाको यो कदमलाई सराहना गर्दै अध्यक्ष सिंहप्रति आभार व्यक्त गरे। यसैगरी, आगामी चरणमा अन्य वडामा पनि सामान रूपमा वितरण गरिने बताइएको छ।