प्रदीप कुमार दास, रौतहट ।
कार्तिक ११ गते , आईतवार ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं-६ स्थित माधोपुर दलित बस्तीमा आईतवार सम्पन्न राहत वितरण कार्यक्रमले बाढी पिडित, गरीब, विपन्न तथा भूमिहीन परिवारहरूको जीवनमा महत्वपूर्ण सहयोग पुर्याएको छ। आरडीएन नेपाल र समुदाय दलित विकास केन्द्र नेपाल (सिडिडिसि) को आयोजनामा समाजसेवी प्रेमबहादुर लम्सालको व्यक्तिगत सहयोग र सिडिडिसिका अध्यक्ष सुबा साहेब हाजारीको पहलमा ९० घरधुरीलाई राहत स्वरूप आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य बाढीको चपेटामा परेका हरवा-चरवा, दलित, भूमिहीन तथा शोषित वर्गका परिवारहरूलाई संकटको समयमा आवश्यक सहयोग पुर्याउनु रहेको थियो। राहत सामग्री वितरण समारोहमा स्थानीय भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र विभिन्न मिडियाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसले कार्यक्रमको महत्व र यसको पारदर्शितालाई थप बलियो बनाएको छ।
राहत सामग्री वितरणको क्रममा स्थानीय पीडित परिवारहरूले सहयोगी मनका धनी समाजसेवी प्रेमबहादुर लम्सालप्रति हार्दिक आभार व्यक्त गरेका थिए। बाढीको समयमा परिवारलाई खाद्यान्नको आवश्यकता परिरहेको बेला प्राप्त यस सहयोगले उनीहरूको जीवनमा ठूलो राहत मिलेको अनुभव व्यक्त गरे। एक स्थानीय पीडितले भने, “बाढीका कारण हाम्रो घर र जीवन अस्तव्यस्त भएको थियो। यस दुःखद घडीमा लम्सालज्यूको सहयोगले हामीलाई धेरै ठूलो राहत मिलेको छ। उहाँलाई हाम्रो सम्पूर्ण परिवारको तर्फबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं।”
समाजसेवी प्रेमबहादुर लम्सालले पनि आफ्नो सम्बोधनका क्रममा भने, “समाजको समस्यामा सधैं साथ दिनु नै मेरो धर्म हो। यस्ता कठिन परिस्थितिमा सानो भए पनि सहयोग पुर्याउन पाउँदा गर्वको अनुभूति भएको छ। भविष्यमा पनि सकेसम्म मद्दत गर्ने मेरो प्रतिबद्धता रहनेछ।”
राहत वितरण कार्यक्रममा सहभागी स्थानीय अगुवा र प्रतिनिधिहरूले यस्ता सहयोगले स्थानीय बासिन्दाको मनोबल उच्च राख्न मद्दत पुर्याएको र समुदायको बीचमा सकारात्मक भावना फैलिएको बताए। सिडिडिसिका अध्यक्ष सुबा साहेब हाजारीले आफ्नो सम्बोधनमा राहत कार्यक्रमको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। साथै, उनले समुदायका आवश्यकता अनुसार भविष्यमा पनि विभिन्न विकास र सहयोगका कार्यक्रमहरू सञ्चालन गरिने आश्वासन दिए।