मावि पथरा बुधरामको चार कोठे नवनिर्मित भवनको समुद्घाटन समारोह सम्पन्न

रानी साह, रौतहट ।

कार्तिक १९ गते,सोमबार ।

रौतहटको मौलापुर नगरपालिकाले नवनिर्मित विद्यालय भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। श्री माध्यमिक विद्यालय पथरा बुधरामको चार कोठे भवनको उद्घाटन संघीय सांसद एवं पूर्वमन्त्री माननीय प्रभु साहको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कुमार यादवको अध्यक्षता रहेको थियो भने विशिष्ठ अतिथि नगर प्रमुख रिना कुमारी साह, विभिन्न विद्यालयका प्रधानाध्यापक, नगरपालिकाका कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार तथा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो।

नवनिर्मित विद्यालय भवनको कुल क्षेत्रफल १,४४० वर्ग फिट रहेको छ। यस भवनमा २३ फिट लम्बाइ र १५ फिट चौडाइ भएका चारवटा कक्षा कोठाहरू छन्। ६० फिट लामो र ६ फिट चौडा बरण्डा, १५ फिट लम्बाइ र १० फिट चौडाइको सिढी घरको व्यवस्था समेत रहेको छ। प्रत्येक कक्षा कोठामा चारवटा झ्याल र दुईवटा ढोकाहरूको व्यवस्था गरिएको छ। भवन निर्माणको कुल लागत ५० लाख रहेकोमा नगरपालिकाले ४५ लाख अनुदान प्रदान गरेको छ भने स्थानीय सहभागिता ५ लाख रहेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कुमार यादवले बताउनुभएको छ कि यो भवनले स्थानीय विद्यार्थीहरूको शैक्षिक वातावरणलाई गुणात्मक रूपमा सुधार्ने अपेक्षा गरिएको छ। विद्यालय व्यवस्थापन, शिक्षक र नगरपालिकाको सहकार्यमा निर्माण सम्पन्न भएको यो भवनले विद्यार्थीहरूको पठनपाठनमा थप सुविधा पुर्‍याउने विश्वास गरिएको छ।

उक्त अवसरमा भवन निर्माण तथा शैक्षिक सुधारमा अहोरात्र खटेर योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि माननीय प्रभु साहले प्रअ राजेश सिंह, बिरीचन राम, सर्युग यादव, सुरेन्द्र यादव, निर्माणकर्मी उमेश यादव र शिक्षक लखिन्द्र यादवलाई प्रशंसापत्र हस्तान्तरण गर्दै शैक्षिक क्षेत्रमा निरन्तर योगदान पुर्याउन शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन तथा उद्घोषण शिक्षक लखेन्द्र यादवले गर्नुभएको थियो।

विक्रम सम्वत २०१४ सालमा स्थापना भएको यस विद्यालयले धेरै महत्वपूर्ण व्यक्तिहरूलाई शिक्षित गराएको छ। यसै विद्यालयबाट संघीय सांसद माननीय प्रभु साह तथा संविधानसभा सदस्य माननीय अशोक जयसवालले विद्यालय तहको शिक्षा आर्जन गर्नुभएको थियो। यस विद्यालयका पूर्व विद्यार्थीमध्ये तीन दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, शिक्षक र कर्मचारी हाल मौलापुर नगरपालिकामा कार्यरत रहेका छन्, जसले समाज र राष्ट्रको सेवामा योगदान पुर्याइरहेका छन्।

६७ वर्ष पुरानो यो ऐतिहासिक विद्यालयले अपेक्षाकृत प्रगति हासिल गर्न नसकेकोमा स्थानीय समुदायमा केही निराशा देखिएको छ। तसर्थ, माननीय प्रभु साहको पहलकदमी, युवा प्रअ राजेश सिंहको कार्यकुशलता, विद्यालय व्यवस्थापन समितिका युवा अध्यक्ष विवेक कुमार यादवको जोश जागर र जुझारुपन तथा मौलापुर नगरपालिकाको समन्वयकारी भूमिकाबाट विद्यालयको विकासमा नयाँ आशा जागेको छ।

समारोहमा माननीय प्रभु साहले आगामी विक्रम सम्वत २०८४ सालमा विद्यालयको ७०औं वार्षिकोत्सव (प्लाटिनम जुब्ली) भव्य रूपमा मनाउन सकियोस् भनी शुभकामना व्यक्त गर्दै सम्पूर्ण नगरवासीलाई छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनुभयो। उहाँले अभिभावक, शिक्षक र स्थानीय समुदायको सहयोगले विद्यालयको अधुरा योजनाहरू पूरा गर्दै शैक्षिक प्रगतिको नया युग सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो।

ताजा समाचार

Related Articles