समाजमा लैंगिक हिंसा अन्त्य गर्न धर्मगुरुहरूको सक्रियतामा जोड दिँदै सर्लाहीको लालबन्दीमा संवाद कार्यक्रम सम्पन्न

प्रदीप दास, रौतहट ।

मङ्सीर ०९ गते, आईतवार ।

अन्तर धार्मिक सञ्जाल (निरन नेपाल) सर्लाहीको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको आतिथ्यतामा युनाइटेड होटलमा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र समाजमा लैंगिक हिंसा अन्त्य गर्न धर्मगुरुहरूको सक्रियतामा जोड दिँदै सर्लाहीको लालबन्दीमा संवाद कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रमको अध्यक्षता निरन नेपाल सर्लाहीका अगुवा अली हसनले गरेका थिए भने प्रमुख अतिथिको रूपमा निरन नेपालका केन्द्रीय पूर्व अध्यक्ष हर्ष थापाको उपस्थिति रहेको थियो। चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार पंजियार, मानव अधिकारकर्मी मुकेश मिश्र तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको समेत कार्यक्रममा उल्लेखनीय सहभागिता थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले धर्मगुरुहरूको भूमिका समाज रूपान्तरणका लागि महत्त्वपूर्ण हुने बताए। धर्म र संस्कृतिको प्रभावलाई सदुपयोग गर्दै लैंगिक हिंसा अन्त्य गर्न धर्मगुरुहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउनुपर्नेमा उनको जोड थियो। उनले निरन नेपालले गरेको सामाजिक अभियानको प्रशंसा गर्दै गाउँपालिका र अन्य सरोकारवालासँग सहकार्यलाई आगामी दिनमा अझ मजबुत बनाइने प्रतिबद्धता जनाए।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि आफ्नो मन्तव्य व्यक्त गर्दै भने, “मैले निर्वाचित भएदेखि नै महिला हिंसा, बालविवाह र लैंगिक विभेद अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छु। १६ दिने अभियान मात्रै होइन, समाज रूपान्तरणको यो काम निरन्तर ३६५ दिन चल्नुपर्छ।”

समाजलाई परिवर्तन गर्ने दीर्घकालीन योजना

कार्यक्रममा महिला हिंसा, बालविवाह र महिला अधिकारका विषयमा स्थानीय तहले गरेका प्रयासहरूको चर्चा गरियो। बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउने र महिलाहरूलाई सशक्त बनाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने कुरामा पनि सरोकारवालाहरूले जोड दिए।

कार्यक्रममा निरन नेपाल मधेस प्रदेशका कार्यक्रम अधिकृत आशिष चौधरी, मानव अधिकारकर्मी मुकेश मिश्र, ओरेक नेपालकी प्रतिनिधि बिना सिंहलगायत सञ्चारकर्मीहरू र नागरिक समाजका सदस्यहरूको पनि उपस्थिति थियो।

अन्तर धार्मिक सञ्जालका अगुवाहरूले धर्मगुरुहरूको सक्रियतामा आधारित भएर समाजमा जनचेतना अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै, आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू गर्ने योजना रहेको जानकारी दिए।

ताजा समाचार

Related Articles