प्रदीप कुमार दास, रौतहट ।
मङ्सीर १२ गते , बुधबार ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर-५ (टिकुलिया) मा हरेक वर्षझैँ यसपटक पनि श्री महाबिर झन्डा मेलाको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। मंगलबार भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति रौतहटका सभापति रामयोध्या राय यादवको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई विशेष महत्व दिने गरी देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको विशिष्ट आतिथ्यता रहेको थियो भने मेलाको उद्घाटन सोही वडाका वडा अध्यक्षको नेतृत्वमा गरिएको हो।
मेला समिति अध्यक्ष बच्चेलाल यादवका अनुसार महाबिर झन्डा मेला आगामी मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ। यो मेला धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावको प्रतीकको रूपमा हरेक वर्ष भव्यताका साथ मनाइँदै आएको छ। स्थानीय समुदाय र विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिताले मेलालाई अझै विशेष र ऐतिहासिक बनाउने गरेको अध्यक्ष यादवले बताए।
मेलाको उद्घाटन समारोहमा देवाही गोनाही नगरपालिकाका वडा नम्बर-६ का अध्यक्ष विष्णु दास, वडा नम्बर-३ का अध्यक्ष संजय पटेल, वडा नम्बर-७ का अध्यक्ष उपेन्द्र यादव, र वडा नम्बर-८ का अध्यक्ष विजय पटेलको पनि उपस्थिति रहेको थियो। स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, विभिन्न मिडिया प्रतिनिधि र जनसाधारणको उत्साहजनक सहभागिताले मेलाको पहिलो दिनलाई रंगीन बनाएको थियो।
महाबिर झन्डा मेला देवाही गोनाही क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्ने मात्र होइन, स्थानीय आर्थिक गतिविधिलाई समेत प्रवर्द्धन गर्ने माध्यम बनेको छ। मेलामा परम्परागत झाँकी, भजन–कीर्तन तथा अन्य सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने भएकोले मेलाले सम्पूर्ण क्षेत्रलाई धार्मिक र सांस्कृतिक रूपमा एकताबद्ध गर्ने विश्वास गरिएको छ।
मेला अवलोकन गर्न र आस्थाका झण्डाहरू फहराउन टाढा–टाढाबाट भक्तजनहरूको आगमन हुने गरेको छ। मेलाको प्रमुख आकर्षण महाबिरको झण्डा फहराउने परम्परा हो, जसलाई विशेष सम्मानका साथ समर्पण गरिन्छ। स्थानीय बासिन्दाहरूले मेलालाई अझ भव्य बनाउने उद्देश्यले आवश्यक तयारी गरेका थिए।