एसियाकै तेश्रो पञ्चवर्षीय गढिमाई मेला महोत्सव रौतहटको हरैयामा भव्यताका साथ उद्घाटन समारोह सम्पन्न

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर १९ गते,बुधवार ।

रौतहट जिल्ला गढिमाई नगरपालिका–१, हरैयामा आयोजित श्री पञ्चवर्षीय गढिमाई मेला महोत्सव २०८१ विधिवत रूपमा सुरु गरिएको छ । नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री माननीय रुपा विश्वकर्मा र नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा पूर्व मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्री माननीय कृष्ण प्रसाद यादवले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गर्नुभएको हो।

गढिमाई मेला महोत्सव ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको परम्परागत महोत्सव हो, जसले हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्दै आएको छ । उद्घाटन समारोह विशेष सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको थियो, जहाँ विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।

सो अवसरमा विशिष्ट अतिथिका रूपमा पूर्व मन्त्री तथा मधेश प्रदेश सांसद माननीय अबुल कलाम आजाद, पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्रनाथ खनाल, गढिमाई नगर प्रमुख श्याम प्रसाद यादव लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो। जसपाका जिल्ला सह-इञ्चार्ज राजकुमार दास तत्मा, नेकपा (एस) नेता बृजकिशोर यादव, वडाध्यक्षहरु राम पुकार यादव, दीपेन्द्र श्रेष्ठ, प्रविन सिंह यादव तथा अन्य स्थानीय नेताहरूको उपस्थितिले पनि कार्यक्रमलाई थप विशेष बनाएको थियो।

महोत्सव उद्घाटन समारोहको अध्यक्षता मेला समिति संयोजक एवं पूर्व वडा अध्यक्ष राम विनय यादवले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन नायक/कलाकार नेक महम्मद हुसैनले गरेका थिए, जसले आफ्नो उद्घोषण कौशलले सहभागीहरूको ध्यान केन्द्रित गराउन सफल भएका थिए।

यस महोत्सवमा स्थानीय भद्रभलादमी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रहरी प्रशासन र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मेलाले स्थानीय सांस्कृतिक सम्पदा र धार्मिक परम्पराको संरक्षणमा विशेष योगदान पुर्‍याउँदै आएको छ।

श्री गढिमाई मेला केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई पर्यटकीय रूपमा पनि निकै महत्वपूर्ण छ। प्रत्येक पाँच वर्षमा आयोजना हुने यस महोत्सवले लाखौं तीर्थयात्री र पर्यटकलाई आकर्षित गर्दै आएको छ । यस पटकको महोत्सवले गढिमाई क्षेत्रको समग्र विकास र धार्मिक पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

विशेष सांस्कृतिक प्रस्तुति, स्थानीय कलाकारहरूको सहभागीता र परम्परागत नृत्यसहितको कार्यक्रममा सहभागीहरूले मेलाको महत्त्व र गरिमा झल्काउने प्रयास गरेका थिए। यसले मेलामा उपस्थित भक्तजन र आगन्तुकहरूको मन जित्न सफल भएको थियो।

गढिमाई मेला महोत्सव २०८१ को यो विधिवत उद्घाटनले स्थानीय जनता र धार्मिक आस्थाका अनुयायीहरूलाई थप उत्साहित बनाएको छ। मेलाको सफल सञ्चालनका लागि सबै पक्षबाट सहकार्य र समर्थन आवश्यक रहेको संयोजक यादवले बताउनुभएको छ।

ताजा समाचार

Related Articles