रौतहटको मा वि पथरा बुधराममा १३ सय विद्यार्थीलाई विद्यालय पोशाकको कपडा वितरण

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर १८ गते, मंगलबार ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधरामले एक महत्त्वपूर्ण पहल गर्दै आफ्ना १३ सय विद्यार्थीहरूलाई विद्यालय पोशाकका लागि कपडा वितरण गरेको छ। यो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कुमार यादवको अध्यक्षता र प्रधानाध्यापक राजेश सिंहको संयोजनमा सम्पन्न भएको हो।

विद्यालयमा यसपटक वितरण गरिएको कपडाको खर्चका लागि छात्रवृत्ति कोषको रकम प्रयोग गरिएको हो। विद्यालयले विगत तीन आर्थिक वर्षको छात्रवृत्ति कोषका बाँकी रकमलाई एकीकृत गर्दै आर्थिक वर्ष २०७९, २०८० र २०८१ का उपलब्ध कोषहरूलाई परिचालन गरेको थियो। यसबाट विद्यालयका सबै वर्गका विद्यार्थीहरूले समान अवसरको अनुभूति गर्ने अवसर पाएका छन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले गाउँका प्रतिष्ठित व्यक्तित्वहरूसँग मिलेर यो कामलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले। कार्यक्रममा शिक्षक-शिक्षिका, विद्यार्थीहरू तथा अभिभावकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले बताएअनुसार, “विद्यार्थीहरूको शिक्षामा समानता ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले पनि सहजै अध्ययन गर्न सकून् भन्ने हाम्रो प्रयास हो।”

यस अवसरमा प्रधानाध्यापक राजेश सिंहले भने, “यो वितरण कार्यक्रमले विद्यार्थीहरूको मनोबललाई थप उचाइमा पुर्‍याउनेछ। शिक्षामा गुणस्तर कायम राख्न र विद्यार्थीहरूलाई अनुशासित बनाउन विद्यालय पोशाक महत्वपूर्ण भूमिका खेल्छ।”

कार्यक्रममा अभिभावकहरूले पनि विद्यालय प्रशासनको यो कदमको प्रशंसा गरे। उनीहरूका अनुसार, यस्तो पहलले विद्यार्थीहरूलाई शिक्षामा लागिपर्न प्रोत्साहन गर्दछ।

श्री माध्यमिक विद्यालय पथरा बुधरामले यस्ता कार्यक्रमहरूमार्फत समाजमा शिक्षा र समानताको महत्त्वपूर्ण सन्देश प्रवाह गरिरहेको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको हितमा यस्तै योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

Related Articles