प्रदीप कुमार दास, रौतहट ।
मङ्सीर १९ गते,बुधवार ।
रौतहटको कटहरिया नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुधार गर्ने उद्देश्यले नगर प्रमुख अजय प्रकाश जैसवालले महत्वपूर्ण कदम चालेका छन्। नगरपालिकाअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र (PHC) कटहरियामा महिला चिकित्सक डा. रूबी प्रधानको हाजिर गराउँदै जैसवालले आफ्नो चुनावी वाचा पूरा गरेका छन्।
नगरप्रमुख जैसवालले आफू नगरप्रमुख पदमा निर्वाचित हुनु पूर्व नगरवासीहरूसँग गरेका प्रतिबद्धतामध्ये महिला डाक्टरको व्यवस्था गर्ने योजना एक प्रमुख प्राथमिकता थियो। विशेषगरी महिलाहरूलाई आफ्नो स्वास्थ्य समस्या खुलाएर बताउन पुरुष चिकित्सकहरूसँग असहज महसुस हुने समस्यालाई ध्यानमा राख्दै, उनले यस कदमलाई प्राथमिकतामा राखेको बताए।
नगरप्रमुख जैसवालले भने, “महिलाहरूको स्वास्थ्य समस्या पुरुष चिकित्सकहरूसँग खुलेर भन्न अप्ठ्यारो भइरहेको गुनासो मैले विभिन्न फोरमहरूमा सुन्दै आएको थिएँ। त्यसैले महिला चिकित्सकको व्यवस्था गरेर उनीहरूको स्वास्थ्य सेवा सहज बनाउने मेरो प्रमुख लक्ष्य थियो। आज त्यो सपना पूरा भएको देख्दा गर्व महसुस भएको छ।”
डा. रूबी प्रधानको आगमनले कटहरियाका महिलाहरूमा उत्साह र आशा पैदा गरेको छ। यसअघि महिलाहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत नजिकका अन्य शहरहरू धाउनुपर्ने बाध्यता थियो। अब भने स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएपछि उनीहरू खुसी देखिन्छन्।
स्वास्थ्य केन्द्रमा महिला चिकित्सकको आगमनले गर्भवती महिला, स्त्रीरोग, बच्चाहरूको स्वास्थ्य समस्या र अन्य संवेदनशील विषयमा सेवा लिन महिलाहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ। डा. प्रधानले आफ्नो भूमिका सम्बन्धमा भनिन्, “म यहाँका जनतालाई सकेसम्म राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध छु। खासगरी महिलाहरूका लागि सहज वातावरण सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ।”
नगर प्रमुख जैसवालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य सुधार योजनाहरू पनि अघि बढाइरहेको बताए। उनका अनुसार नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको भौतिक संरचना सुधार, औषधि आपूर्ति व्यवस्थापन र स्वास्थ्यकर्मीहरूको अभाव समाधानका लागि योजनाहरू निर्माणाधीन छन्।
स्थानीय महिला, सामाजिक कार्यकर्ता र नगरबासीहरूले नगरप्रमुखको यो कदमको प्रशंसा गरेका छन्। उनीहरूले महिला डाक्टरको व्यवस्थापन नगरपालिकाको लागि ऐतिहासिक निर्णय भएको भन्दै, आगामी दिनमा अन्य सेवा सुविधाहरू पनि विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्।
नगरप्रमुख जैसवालको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार र महिला सशक्तीकरणलाई प्रोत्साहन दिने यो निर्णय कटहरिया नगरपालिकाका लागि मात्र नभई समग्र देशका अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ।