नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा नयाँ नेतृत्व चयन, सञ्जय कुमार कार्की अध्यक्षमा निर्वाचित

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर २९ गते , शनिबार ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनबाट सञ्जय कुमार कार्की अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको तर्फबाट बागी उम्मेदवारी दिएका कार्कीले कुल १५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गरे ।

गठबन्धनको समर्थनमा रहेका प्रेस चौतारी नेपालका उम्मेदवार उत्तमकुमार उपाध्याय र प्रेस मञ्चका रविन्द्र प्रसाद साह दुवैले समान १२-१२ मत प्राप्त गरेका थिए । यद्यपि, अध्यक्ष पदमा कार्कीले तीन मतको अग्रता हासिल गरे। समाजवादी प्रेस संगठनका मदन ठाकुर धनञ्जय भने ६ मतमा सीमित रहे ।

महासङ्घको उपाध्यक्ष पदमा प्रेस सेन्टरका डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी राम एकवाल साहले १५ मत ल्याउँदा पुष्पराज यादवले ११ मतमा सन्तोष मान्नुपर्‍यो । सचिव पदमा प्रेस चौतारीका गौतम श्रेष्ठले २६ मत प्राप्त गर्दै विजयी भएका छन् । सह-सचिव खुला तर्फ जितेन्द्र श्रीवास्तवले २४ मत र समावेशी तर्फ दिनेश यादवले २६ मत प्राप्त गर्दै पदमा निर्वाचित भए ।

कोषाध्यक्ष पदमा सञ्जय कुमार सहनी २४ मतका साथ विजयी बने । यसअघि, महिला उपाध्यक्ष पदमा बिना श्रीवास्तव, महिला खुला तर्फ रश्मी पटेल, पुरुष खुला तर्फ उमेश यादव र आदिवासी जनजाति तर्फ प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

शुक्रबार भएको निर्वाचनमा महासङ्घका कुल ४५ जना मतदातामध्ये सबैले मतदान गरेका थिए । यो निर्वाचनमा प्रतिस्पर्धा तीव्र र रोमाञ्चक रह्यो । केही पदमा निर्विरोध निर्वाचन सम्पन्न भए पनि अन्य पदमा प्रतिस्पर्धीहरूले आफ्ना समर्थकलाई आकर्षित गर्न सकेनन् ।

सञ्जय कुमार कार्कीको अध्यक्षतामा चयन भएको यो नेतृत्वले आगामी दिनमा रौतहटको पत्रकारितालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै, विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागीता र सहकार्यले महासङ्घको गतिविधिमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरिएको छ ।

ताजा समाचार

Related Articles