मौलापुर नगरपालिकाले नगरबासीका विद्युत महसुल तिर्न ३५ लाख बुझायो

प्रदीप कुमार दास, रौतहट ।

पौष १२ गते,शुक्रबार ।

रौतहटको मौलापुर नगरपालिकाले आफ्ना नगरबासीको विद्युत महसुल तिर्नका लागि नेपाल विद्युत प्राधिकरण, मौलापुर शाखालाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरपालिकाले सञ्चालन गरेको निःशुल्क विद्युत कार्यक्रम अन्तर्गत यो रकम तेस्रो किस्ताका रूपमा बुझाइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार, नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा शुक्रबार यो रकम हस्तान्तरण गरिएको हो। नगरप्रमुख साहको पहलमा नगरबासीलाई आर्थिक राहत दिने उद्देश्यले यो कार्यक्रम लागू गरिएको छ।

शुक्रबार आयोजित एक विशेष कार्यक्रममा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत साहले भने, “नगरवासीलाई निःशुल्क विद्युत सेवा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं। यस प्रकारको सहकार्यले नगरबासीलाई आर्थिक रूपमा सहज बनाउनुका साथै विद्युत प्राधिकरणलाई पनि समयमै महसुल संकलन गर्न मद्दत पुर्‍याएको छ।”

निःशुल्क विद्युत कार्यक्रम नगरपालिकाको प्रमुख प्राथमिकतामा पर्दछ। यो कार्यक्रमअन्तर्गत नगरपालिकाले आफ्ना बासिन्दाका लागि प्रत्येक आर्थिक वर्षमा करोडौं रुपैयाँ खर्च गर्दै आएको छ। यस किसिमको पहलले नगरपालिकाको सामाजिक उत्तरदायित्व र नगरवासीप्रतिको सेवा भावलाई उजागर गरेको छ।

नगरप्रमुख साहले नगरबासीलाई नियमित विद्युत प्रयोग र महसुल तिर्नका लागि नगरपालिकाले यसरी सहयोग गर्दै आएको बताइन्। उनले नगरपालिकाले भविष्यमा पनि यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न पहल गर्ने योजना रहेको उल्लेख गरिन्।

मौलापुर नगरपालिकाको यो कदमले नगरबासीमा उत्साह थपेको छ। नगरवासीहरूले नगरपालिकाले आफ्नो समस्यामा गरेको सहयोगको प्रशंसा गर्दै यस्तो कार्यक्रमले आर्थिक भार घटाउने मात्र होइन, समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

ताजा समाचार

Related Articles