प्रदीप कुमार दास, रौतहट ।
पौष १४ गते, आईतवार ।
काठमाडौंमा सम्पन्न पहिलो नेपाली प्रिमियर लिग (एनपीएल) मा ऐतिहासिक जित हासिल गर्दै जनकपुर बोल्ट्सले सम्पूर्ण देशको ध्यान खिच्न सफल भएको छ । यस ऐतिहासिक जितको सम्मानस्वरूप मधेश प्रदेशका विभिन्न जिल्लामा सम्मान कार्यक्रमको आयोजना भइरहेको छ। यही योजनाअन्तर्गत आइतवार जनकपुर बोल्ट्सको टोली रौतहटको सदरमुकाम गौरमा पुगेको थियो, जहाँ स्थानीय समुदायले भव्य स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको नेतृत्वमा आयोजित कार्यक्रममा बोल्ट्सका खेलाडीहरूलाई फूलमालाले सजाएर सम्मानपत्र प्रदान गरिएको हो । मेयर साहले बोल्ट्सको ऐतिहासिक जितले मधेश प्रदेशलाई गौरवान्वित बनाएको उल्लेख गर्दै खेलकुदको विकास र प्रोत्साहनका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता जनाएका हुन् । उनले भने, “जनकपुर बोल्ट्सको सफलता केवल एउटा टिमको मात्र होइन, सम्पूर्ण मधेश प्रदेशको हो। यो जितले यहाँका युवालाई खेलकुदमा सहभागी गराउन थप प्रेरणा दिनेछ।”
जनकपुर बोल्ट्सको व्यवस्थापन टोलीले एनपीएलको ट्रफीसहित मधेश प्रदेशका आठै जिल्लामा सम्मान कार्यक्रम गर्ने योजना बनाएको छ। यसै योजनाअन्तर्गत गौर पुगेको टोलीलाई स्थानीय संघ–संस्थाले भव्य स्वागत गरेका थिए। गौर राइस मिल्समा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, नगरवासी, खेलप्रेमी, संघका पदाधिकारी र हजारौं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा जनकपुर बोल्ट्सका कप्तान र टिमका अन्य खेलाडीहरूले आफ्ना अनुभव साझा गर्दै स्थानीय जनताको समर्थनका लागि आभार प्रकट गरेका हुन् । उनीहरूले मधेश प्रदेशको नाम खेलकुदको क्षेत्रमा उज्यालो बनाउन आगामी दिनमा पनि मेहनत जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
गौरको कार्यक्रमलाई विशेष बनाउन स्थानीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने खेलप्रेमीहरूले टिमको स्वागतमा परम्परागत बाजागाजा बजाएर वातावरणलाई उल्लासमय बनाएका थिए ।
यस ऐतिहासिक अवसरमा सहभागी स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूले जनकपुर बोल्ट्सको सफलतालाई क्षेत्रीय खेलकुदको विकासका लागि प्रेरणादायी कदमका रूपमा व्याख्या गरे। उनीहरूले भने, “यो सफलता मधेश प्रदेशका अन्य युवालाई खेलकुदमा लाग्न हौसला दिनेछ। यसले केवल क्षेत्रीय मात्र नभई राष्ट्रिय स्तरको खेलकुदमा मधेश प्रदेशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
जनकपुर बोल्ट्सको विजयी यात्राको सम्मान गर्न मधेश प्रदेशका अन्य जिल्लाहरूमा पनि यस्तै कार्यक्रमको आयोजना हुँदैछ। गौरमा सम्पन्न यो भव्य स्वागतले मधेश प्रदेशमा खेलकुदप्रतिको चासो र समर्थनको स्तरलाई प्रस्ट रूपमा उजागर गरेको छ ।