प्रदीप कुमार दास, रौतहट ।
पौष १४ गते , आईतवार ।
पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टी (आजपा)ले आफ्नो दोश्रो स्थापना दिवसको अवसरमा सरकारले लगाएको मनपरी कर आतंकको विरोध गर्दै काठमाण्डूमा विशाल प्रदर्शन सम्पन्न गरेको छ ।
“सरकार पिच्छे सरकारको कर आतंक बन्द गर,” “लुटेरा सरकार मुर्दाबाद,” “दलाल दलतन्त्र मुर्दाबाद,” र “तेस्रो जनआन्दोलन सफल पारौं, आम जनताको सर्वोच्चता स्थापित गरौं” जस्ता नाराहरूका साथ आयोजना गरिएको विरोध प्रदर्शनमा देशभरबाट हजारौंको सहभागिता रहेको थियो । प्रदर्शनमा विभिन्न सांस्कृतिक झाँकीहरू, नाराबाजी र व्यंग्यात्मक प्रस्तुतिहरूले आकर्षण थपेका थिए ।
विरोध र्याली बिहान प्रज्ञा भवन, कमलादीबाट सुरु भएको थियो। र्याली प्रदर्शनी मार्ग, रत्नपार्क र कमलादी क्षेत्र हुँदै सभागृहमा पुगेर सम्पन्न भएको थियो। सभागृहमा आयोजित विरोध सभामा आजपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले आ–आफ्ना मन्तव्य राखेका थिए ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारको कर आतंकले जनतामा आर्थिक भार मात्र थपेको नभई संविधानको मर्मविपरीत आम नागरिकको अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाए । उनले भने, “प्रत्येक सरकार आफ्नो स्वार्थपूर्तिका लागि जनतामाथि करको चाप बढाउँदै छ । यो मनपरीतन्त्रको अन्त्य गर्न अब तेस्रो जनआन्दोलनको खाँचो छ ।”
साहले सबै राजनीतिक दलहरूले भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रलाई प्रोत्साहन गरेको आरोप लगाउँदै अब जनताको सर्वोच्चता स्थापित गर्न संघर्ष गर्नुपर्ने समय आएको बताए । “आम जनताको पक्षमा रहेको शक्ति हामी हौं र हामीले यस देशलाई नयाँ दिशा दिनुपर्नेछ,” उनले भने ।
प्रदर्शनमा विभिन्न जिल्लाबाट आएका पार्टीका कार्यकर्ताहरूले स्थानीय संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरेका थिए । तामाङ, नेवार र थारू समुदायका भेषभूषा र सांस्कृतिक प्रस्तुति प्रदर्शनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो ।
कार्यक्रममा आजपाका युवा, महिला र मजदुर संगठनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले “दलालतन्त्र” को अन्त्य गर्दै देशमा समतामूलक प्रणालीको स्थापना गर्न प्रतिबद्धता व्यक्त गरे ।
विरोध सभाको अन्त्यमा पार्टीका नेताहरूले आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरे । तेस्रो जनआन्दोलनको तयारी स्वरूप जनतामाझ सचेतना अभियान, क्षेत्रीय सभा र अन्य कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराइएको छ ।
यो विरोध प्रदर्शनले वर्तमान सरकारको नीति–नियमप्रति गम्भीर प्रश्न उठाउँदै आम नागरिकको समर्थन जुटाउन सफल भएको देखिन्छ । जनताको भावना र आक्रोशलाई सम्बोधन गर्दै, आम जनता पार्टीले आगामी दिनमा थप प्रभावकारी आन्दोलनको योजना बनाउने संकेत दिएको छ ।