प्रदीप कुमार दास, रौतहट
पौष १६ गते, मंगलबार
रौतहट जिल्लामा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व संघीय गृह राज्य मन्त्री रिजवान अन्सारीको नेतृत्वमा विभिन्न सामाजिक र राजनीतिक गतिविधि सम्पन्न भएको छ।
पूर्व राज्यमन्त्री अन्सारीले रौतहटको गरुडा नगरपालिका वडा नं. ८ स्थित जिंगडियामा रहेको महाद उम्मे हबिबा लिल बनाथ (मदरसा) मा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुँदै अध्ययनरत छात्र-छात्राका लागि एक बन्डल म्याट वितरण गरेका हुन् । उक्त अवसरमा स्थानीय समुदायसँग छलफल गर्दै, आगामी पौष २१ गते आइतबार गरुडामा अगुवा कार्यकर्ताको मिटिङ गरि जनजागरण अभियानको औपचारिक सुरुवात गर्ने निर्णय गरिएको छ।
भेटघाट कार्यक्रमको अध्यक्षता मौलाना ईजराईलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व संघीय गृह राज्यमन्त्री रिजवान अन्सारीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष अनीसुर रहमान, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लक्ष्मी साह सोनार, स्थानीय अगुवा नेताहरू, मौलाना मैनोदिन मन्सुर, अब्दुल्लाह अन्सारी लगायत भद्रभलादमी, बुद्धिजीवी र विभिन्न सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
यसैबीच, रिजवान अन्सारीले नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य शिव पुरीका पूजनीय बुबाको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्न शिव पुरीको निजी निवासमा पुगेर शोकाकुल परिवारलाई समवेदना व्यक्त गरे। उनले शोक सन्देश हस्तान्तरण गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका थिए।
पूर्व संघीय गृह राज्यमन्त्री अन्सारीको यस प्रकारको सक्रियताले समाजमा शैक्षिक र राजनीतिक चेतनाको विस्तार गर्ने उद्देश्यलाई बल दिएको छ। मदरसामा अध्ययनरत विद्यार्थीहरूप्रतिको सहयोगले शिक्षा क्षेत्रमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, जनजागरण अभियानको घोषणा आगामी दिनमा मधेशको राजनीतिक र सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तनको आधार बन्न सक्ने अनुमान गरिएको छ।