प्रदीप कुमार दास, रौतहट ।
पौष १७ गते, बुधबार ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित पताही गाउँमा हालै भएको आगलागीबाट पीडित बनेका परिवारलाई सहयोगका रूपमा न्यानो कपडा वितरण गरिएको छ। यो राहत वितरण कार्यक्रम समुदाय दलित विकास केन्द्र नेपाल (सिडिडिसी) को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमलाई सहयोगी सिस्टर फाउन्डेसन नेपालकी अध्यक्ष शोभा थापाको पहल र समाजसेवी अभियन्ता प्रेम बहादुर लम्सालको विशेष पहलमा सम्पन्न गरिएको थियो। साथै, राष्ट्रिय दलित नेटवर्क नेपालसँगको सहकार्यमा राहत वितरण कार्य सफलतापूर्वक सम्पन्न भएको हो।
आगलागीबाट पीडित आठ घरपरिवारलाई न्यानो कपडा तथा आवश्यक सामग्रीहरू वितरण गरियो। वितरण गरिएका सामग्रीमा कम्बल, ब्ल्याङ्केट, स्वेटर, सारी, शूट, सल, ज्याकेट र मुफलरसमेत समावेश थिए। यी सामग्रीहरू समुदाय दलित विकास केन्द्र नेपालका अध्यक्ष सुब्बा साहेब पासवानले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए।
उक्त राहत वितरण कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मधेशी दलित गैर सरकारी महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान, मेयर प्रत्यासी अंशु सिंह, पूर्व विधायक बाबुलाल साह, दलित अगुवा नेता मटुक पासवान, समाजसेवी तथा उपमेयर प्रत्यासी नेता शिव शंकर पासवान, दलित अगुवा कमल पासवान, अभियन्ता निशान्त शर्मा र कार्यकारिणी निर्देशक धर्मदेव पासवानको विशेष सहभागिता रहेको थियो।
स्थानीय भद्रभलादमी, बुद्धिजीवी र विभिन्न मिडियाका पत्रकारहरूको पनि कार्यक्रममा उपस्थिति थियो। राहत वितरणका क्रममा पीडित परिवारलाई आगलागीपछिको कठिन समय सामना गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा उपस्थित स्थानीय तथा विशिष्ट व्यक्तित्वहरूले राहत वितरण कार्यको प्रशंसा गर्दै यसलाई पीडितहरूको जीवनमा सहयोग पुर्याउने एउटा सकारात्मक कदमको रूपमा व्याख्या गरे। आगलागीबाट गुमेको सम्पत्तिको क्षतिपूर्ति भने पूर्ण रूपमा गर्न नसके पनि, यो राहतले उनीहरूलाई तत्काल राहत दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरियो।