प्रदीप कुमार दास, रौतहट ।
पौष २१ गते , आईतवार ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ९ सिसवा धमौरामा अवस्थित शहीद लालबाबु दास प्राथमिक विद्यालय मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा भव्य शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा नगर प्रमुख जैसवालले विद्यार्थीहरूका लागि आवश्यक सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरेका हुन्। वितरण गरिएका सामग्रीहरूमा बेन्च २० थान, विद्यार्थी झोला १०० थान, कम्प्युटर टेबुल २ थान, दराज ३ थान, ५० इन्चको LED टेलिभिजन १ थान, मिनी ट्रोली साउण्ड सिस्टम १ थान, बोर्ड २ थान, इन्भर्टर ब्याट्री १ थान, इन्भर्टर चार्जर १ थान, मैट १८ मिटर, कार्पेट १५ मिटर लगायतका सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रञ्जिता दासले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख जैसवालले विद्यालयको शैक्षिक पूर्वाधार विकास र विद्यार्थीहरूको सुविधा सुधार गर्न यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “शिक्षा क्षेत्रको सुधारमा गरुडा नगरपालिका सधैं अगाडि रहनेछ। विद्यार्थीहरूलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर दिनु हाम्रो मुख्य दायित्व हो।”
विशिष्ट अतिथिका रूपमा श्री मा.वि. नयाँ गम्हरिया श्रीपुर रौतहटका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार दास तत्माले विद्यालयको विकासमा यस्ता सहयोगहरूले ठूलो योगदान पुर्याउने बताएका छन्। साथै, शिक्षा शाखा प्रमुख सरोज गौतम श्रेष्ठ, युवा नेता कौशर खान मिथिला, समाजसेवी संजय कुमार साह, शिक्षक बिजुली दास र रामनरेश दासलगायतको पनि कार्यक्रममा सक्रिय उपस्थिति थियो।
कार्यक्रममा अभिभावक, समाजसेवी, पत्रकार तथा नगर प्रहरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र दासले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा थप यस्ता सहयोगको अपेक्षा गरे।