राजदेवी नगरपालिका–५ पताहीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा आगलागी पीडितलाई राहत वितरण

प्रदीप कुमार दास, रौतहट ।

पौष २१ गते , आईतवार ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं–५ पताहीमा भएको आगलागीबाट पीडित भएका हरवाचरवा दलित समुदायका आठ घरधुरीलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। द फ्रिडम फन्डको आर्थिक सहयोग र राष्ट्रिय दलित नेटवर्क नेपाल (RDN नेपाल) को आयोजनामा तथा मुक्त हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशरथ महरा र सिडिडिसी नेपालका अध्यक्ष सुब्बा साहेब पासवानको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको करकमलबाट आगलागी पीडितलाई राहत सामग्री वितरण गरियो। राहतस्वरूप प्रत्येक घरधुरीलाई एक थान कम्बल, एक बोरा चामल, एक केजी दाल, एक केजी सोयाबिन, एक लिटर तेल, एक प्याकेट नुनलगायतका खाद्यान्न सामग्री प्रदान गरियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य कनिस पटेल, नेकपा (एस) स्थायी कमिटी सदस्य कल्याणी खड्का, राजदेवी नगरपालिकाका मेयर भिखारी यादव, बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादव, नेकपा (एस) का जिल्ला अध्यक्ष कमल यादव, नेता रेवन्त झा, मधेशी दलित गैरसरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान, मुक्त हरवाचरवा अधिकार मञ्चका जिल्ला कोषाध्यक्ष डिका कुमारी, सिडिडिसी नेपालका कार्यकारी निर्देशक धर्मदेव पासवान, उपाध्यक्ष रीमा रजक, दलित युवा नेता शिवशंकर पासवान र निशान्त शर्मा तथा पत्रकार प्रदीप दासको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगलागी पीडितप्रति सहानुभूति प्रकट गर्दै यस्तो दुःखद घटनामा सहयोग र सहकार्यको आवश्यकता रहेको बताए। उनले आगलागी जस्ता विपद् व्यवस्थापनका लागि स्थानीय, प्रादेशिक र संघीय सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमका अर्का वक्ता मेयर भिखारी यादवले विपद् व्यवस्थापनमा नगरपालिकाले सकेको सहयोग गर्दै आएको उल्लेख गर्दै पीडितहरूको पुनःस्थापनाका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमलाई सिडिडिसी नेपालका अध्यक्ष सुब्बा साहेब पासवानले सञ्चालन गरेका थिए भने राहत वितरण कार्यले पीडितहरूप्रति सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।

ताजा समाचार

Related Articles