प्रदीप कुमार दास, रौतहट ।
पौष २३ गते, मंगलबार ।
मधेश प्रदेश सभामा आज पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीले मधेश प्रदेशका जनताले भोग्दै आएका गम्भीर समस्याहरूको विषयमा आवाज उठाउनुभएको छ। सभालाई सम्बोधन गर्दै उहाँले बेरोजगारी, भ्रष्टाचार, किसानहरूको समस्या, इश्लाम धर्मप्रतिको सरकारको गैर-जिम्मेवार निर्णय र अत्यधिक चिसोको कारण गरिब मधेसी जनताले भोग्नुपरेका कठिनाइहरूमाथि ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले सरकारप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “मधेशका गरिब जनताले वर्षौँदेखि समस्याको सामना गरिरहे पनि सरकार गम्भीर हुन सकेको छैन। बेरोजगारीको समस्या झन् जटिल बन्दै गएको छ भने किसानहरू उत्पादन र उचित मूल्यको अभावमा समस्यामा परेका छन्। इश्लाम धर्मप्रतिको सरकारको गैर-जिम्मेवार निर्णयले समुदायमा असन्तुष्टि थपिएको छ। त्यसमाथि चिसोका कारण गरिब जनताले भोग्नुपरेका कष्टको समाधान गर्न पनि सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन।”
पूर्वमन्त्री अन्सारीले मधेश प्रदेश सरकारलाई जनताको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दै यी चुनौतीहरूको तत्काल समाधान खोज्न जोड दिनुभएको छ। उहाँको सम्बोधनले सभामा उपस्थित सांसदहरूलाई समेत गम्भीर बनाएको देखिन्थ्यो ।