रुपनी गाउँपालिकाका थारु समुदायले मनाए पहिचानसहितको समग्र अभियान माघी महोत्सव-२०८१

आशिष थारु ।

सप्तरी, माघ ५ गते ।

थारु समुदायको पहिचान, भेषभूषा, भाषा, कला, संस्कृति र समग्र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीको रुपनी गाउँपालिकामा भव्यताका साथ माघी महोत्सव-२०८१ सम्पन्न भएको छ। थारु समुदायको सांस्कृतिक महत्व झल्काउने यस महोत्सव थारु सम्वत २६४९ को अवसर पारेर थारु कल्याणकारी सभा कार्य समिति, रुपनी गा.पा.को आयोजनामा र रुपनी गाउँपालिकाको संयोजनमा सम्पन्न भएको हो।

कार्यक्रम रुपनी गाउँपालिका वडा नं. २, हरिरवामा सम्पन्न भएको थियो, जहाँ थारु समुदायका परम्परागत नाच, गीत, संगीत, झाँकी प्रदर्शन र विभिन्न सांस्कृतिक प्रस्तुति गरिएका थिए। महोत्सवले थारु समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानलाई उजागर गर्न सफल भएको आयोजकले बताए।

महोत्सवको उद्घाटन थारु कल्याणकारी सभा नगर समिति, रुपनी गा.पा.का उपाध्यक्ष श्रीमती शान्ति देवी चौधरीको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिका रूपमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले थारु समुदायको पहिचान, अधिकार र समावेशीताको संरक्षणका लागि गाउँपालिकाले निरन्तर साथ दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा रुपनी गा.पाका विभिन्न जनप्रतिनिधि, कर्मचारी, बौद्धिक व्यक्तित्वहरू, राजनीतिकर्मीहरू र स्थानीय समुदायका विभिन्न तहका मानिसहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। उद्घोषकको भूमिकामा रहेका  देवानन्द चौधरीले महोत्सवको ऐतिहासिक महत्त्वलाई उल्लेख गर्दै भने, “यसरी भव्यताका साथ रुपनी गाउँपालिकाभित्र थारु समुदायले एकै ठाउँमा माघी महोत्सव मनाएको यो पहिलो पटक हो। यसले समुदायबीच एकता, पहिचान र संस्कृतिको जगेर्ना गर्न ठूलो भूमिका खेल्नेछ। आगामी दिनमा पनि यस्ता पर्व र कार्यक्रमहरू निरन्तरता दिने हाम्रो प्रतिबद्धता रहेको छ।”

महोत्सवको विशेष आकर्षण थारु परिकारको व्यापार र प्रदर्शन रहेको थियो। चौधरी होटलले महोत्सव स्थलमै विभिन्न परम्परागत थारु परिकारहरूको प्रदर्शनी र बिक्री गर्यो, जसले आगन्तुकहरूको ध्यान खिच्यो। थारु समुदायको मौलिक परिकारहरू स्वाद लिने मौका पाउँदा स्थानीय तथा आगन्तुक सबैले खुशी व्यक्त गरे।

कार्यक्रममा थारु जातिका सांस्कृतिक महत्वका गीत-संगीत, पौराणिक नृत्य र झाँकीहरूले दर्शकलाई मन्त्रमुग्ध बनायो। महोत्सवले थारु समुदायको समग्र पहिचानलाई प्रवर्द्धन गर्दै, नयाँ पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रतिको गर्व भाव जागृत गर्न सहयोग पुर्याएको छ।

थारु समुदायको यो प्रयासले न केवल उनीहरूको सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ, तर समुदायभित्रको सहकार्य र आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको छ। माघी महोत्सव-२०८१ ले रुपनी गाउँपालिकालाई थारु समुदायको सांस्कृतिक गतिविधिको केन्द्रबिन्दुका रूपमा स्थापित गरेको छ।

ताजा समाचार

Related Articles